अख्तियारको कदमले पुँजी बजार तरंगितः राताम्य बन्यो लगानीकर्ताको लगानी, किन छन् त्रसित ?

काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यावसायिक गतिविधिहरूमा समेत सुशासन र पारदर्शिता सुनिश्चित गर्न छानबिन तथा नियमनको दायरा विस्तार गर्ने तयारी सार्वजनिक गरेपछि सेयर बजारमा सोमबार तीव्र गिरावट देखिएको छ । बजार खुलेसँगै लगानीकर्तामा बढेको अनिश्चितता र त्रासका कारण सूचकहरू राताम्य बनेका हुन् ।
आयोगले सार्वजनिक गरेको ‘भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२÷८३–२०८७÷८८)’ मा सहकारी, निजी कम्पनी तथा अन्य संघ–संस्थामा हुने सम्भावित भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न कानुनी तथा नीतिगत सुधार गर्ने उल्लेख छ । विशेषगरी १० लाख रुपैयाँभन्दा माथिको सेयर कारोबारको अभिलेख, बैंक विवरण तथा पारदर्शिता सुनिश्चित गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने तयारीले बजारमा चासो र चिन्ता दुवै बढाएको छ ।
उक्त नीतिगत संकेत सार्वजनिक भएसँगै लगानीकर्ताहरू सतर्क बनेका छन् । निजी क्षेत्रको कारोबारमाथि नियामक निकायको निगरानी विस्तार हुने आशंकाले छोटो अवधिका लगानीकर्तामा बिक्री चाप बढ्दा बजारमा तीव्र गिरावट आएको विश्लेषकहरूको भनाइ छ । कारोबार दिनभर नै बिक्री दबाब उच्च रहँदा सूचक निरन्तर ओरालो लागेको देखिएको हो ।
यद्यपि, समग्र आर्थिक आधारभूत पक्षहरू भने अझै सकारात्मक रहेको बजार विश्लेषकहरू बताउँछन् । स्थिर सरकारको अपेक्षा, बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट तथा अर्थतन्त्रका प्रमुख सूचकहरूमा देखिएको सुधारले दीर्घकालीन रूपमा बजारलाई बलियो आधार प्रदान गरिरहेको उनीहरूको मूल्यांकन छ ।
तर, नीतिगत परिवर्तन र नियामक निकायका नयाँ रणनीतिबारे स्पष्टता नआएसम्म बजारमा अस्थिरता कायम रहन सक्ने अनुमान गरिएको छ । लगानीकर्ताहरूले सरकार तथा सम्बन्धित निकायबाट स्पष्ट र स्थिर नीतिगत संकेतको अपेक्षा गरेका छन् जसपछि मात्र बजार पुनः लयमा फर्किन सक्ने विश्लेषण गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.८३ अकंले घटेर २८३३.०३ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.८० प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको १.९८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५० प्रतिशतले शेयर मूल्य घटेको हो ।

बिहिबार ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।











