१९ अर्ब लगानीमा दुधकोशीमा ११० मेगावाट जलविद्युत् आयोजना निर्माण हुने, २५ सय रुख कटान गरिने

७ बैशाख २०८३, सोमबार १२:०६

काठमाडौँ । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने भएको छ। माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ का विभिन्न क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको यो आयोजना स्थानीय स्तरमा ऊर्जा उत्पादनसँगै रोजगारी सिर्जनाको दृष्टिले महत्वपूर्ण मानिएको छ।

आयोजनाको विद्युतगृह माप्य दुधकोशी गाउँपालिका–४ अन्तर्गत काँकुखोला र दुधकोशी नदीको सङ्गम बिन्दुबाट करिब ७३० मिटर माथि निर्माण गरिनेछ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् आपूर्ति हुने अनुमान गरिएको छ, जसले देशको ऊर्जा आपूर्ति सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निर्माण चरणमा ६० जना दक्ष, १५० जना अर्धदक्ष र ३५५ जना अदक्ष गरी ठूलो संख्यामा जनशक्तिले रोजगारी पाउनेछन्। यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

विद्युत् विकास विभागले यस आयोजनालाई अर्धजलाशययुक्त (सेमी-रिजर्भायर) प्रकृतिमा निर्माण गर्न यसअघि नै सहमति प्रदान गरिसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले प्रवर्द्धन गर्ने यस आयोजना प्रारम्भमा नदी प्रवाही (रन अफ द रिभर) मोडेलमा अघि बढाइएको थियो। तर पछिल्लो संरचनागत परिवर्तनसँगै अर्धजलाशययुक्त बनाइने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ।

वन तथा वातावरण मन्त्रालयले उक्त पूरक वातावरणीय अध्ययनका लागि आवश्यक सुझाव उपलब्ध गराउन सरोकारवाला निकायसँग आग्रह गरेको छ। आयोजना निर्माणका लागि करिब २५.२८ हेक्टर सामुदायिक वन क्षेत्र प्रयोग हुने र यस क्रममा २,४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो र जामुन लगायतका रुख कटान गर्नुपर्ने देखिएको छ।

प्राविधिक रूपमा आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहनेछ। उत्पादित विद्युत् नयाँ खिम्ती सबस्टेशन, देवीटार (दोलखा) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

आयोजनाको कुल लागत करिब १९ अर्ब ११ करोड रुपैयाँ अनुमान गरिएको छ, जसअनुसार प्रतिमेगावाट लागत करिब २० करोड रुपैयाँ पर्ने देखिन्छ। प्रवर्द्धक कम्पनीका अनुसार आयोजना निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*