जनकपुरमा सयौं बिघा सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं । धनुषाको जनकपुरधाममा सयौं बिग्गा गुठी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको छ। जग्गा अतिक्रमण गरेको आरोपमा विभिन्न व्यक्ति तथा संस्थामाथि जग्गा कब्जा, अनधिकृत प्रयोग तथा बिक्रीसम्बन्धी आरोप लागेको छ।
जानकी हेल्थ केयरका डा. सुरेन्द्र यादव तथा ॐ दीर्घायु हस्पिटलमाथि गुठीको जग्गा कब्जा गरेको आरोप लागेको छ भने राम किशोर दास (बलवा टोलस्थित जानकी हेल्थ केयरसँग सम्बन्धित) र राम जानकी अस्पताल (जानकी मन्दिर मडवा पछाडि) पनि अतिक्रमणमा संलग्न रहेको आरोप लागेको छ।
त्यसैगरी ७ स्टार होटलका सञ्चालक दिपेन्द्र यादव, रत्न सागर गुठीको चार बिगाहा चार कठ्ठा जमिनमा सांसद दिपेन्द्र ठाकुर, तथा मठिहानी गुठीको १० बिगाहा जमिनमा पनि उनकै संलग्नता रहेको आरोप लागेको छ। दशरथ मन्दिर क्षेत्रमा डा. जामुन सिंह, नवल सरणको कुटीअन्तर्गत १२ बिगाहा मैदान र जानकी हाई स्कूलको दक्षिणतर्फ डा. राम नरेश पण्डित, तथा रिवासी कुटीमा अमर पजियारद्वारा कब्जा गरिएको आरोप लागेको छ।
यसैगरी निलआर्जु इन्जिनियरिङ कलेज (डा. अर्जुन सिंह) द्वारा गुठीको पाँच बिगाहा जमिन कब्जा गरिएको तथा राम किशोर दास वैष्णव बाबाले बिहार कुण्डको चार बिगाहा जमिन नक्कली हस्ताक्षरमार्फत भारतीय नागरिकलाई बिक्री गरेको दाबी गरिएको छ। स्वर्गीय राम विश्वेश्वर सरणका चेला नामदेव दासको नाममा दुई बिगाहा जमिनमा १७ वटा घर निर्माण भइसकेको र थप चार वटा निर्माणाधीन रहेको उल्लेख छ। पत्रकार वृज कुमार यादवले गुठीको जमिनमा ‘अन्जनि स्वीट्स’ नामक होटल निर्माण गरेको आरोप पनि छ।
पंडित राम सागर दास (मुझेलिया, कबर्ड हल नजिक) को नाममा रहेको चार कठ्ठा जमिन तथा घरमा प्रदेश स्वास्थ्य मन्त्री जङ्घी लाल राय यादवको सम्बन्ध देखाइएको छ। त्यस्तै रतन भवन कब्जा प्रकरणमा किसुन महराजी (सांसद दिपेन्द्र ठाकुरका दाइ) को नाम जोडिएको छ। राजर्षी क्याम्पस (गुड्डु झा) द्वारा गुठी संस्थाको १५ कठ्ठा जमिन कब्जा गरिएको, बेला कुटीको पाँच बिगाहा जमिन “विश्व भारतीय फाउन्डेसन” (पूर्व मन्त्री अनिल झा) को नाममा राखिएको तथा जनकपुरधाम–१२ स्थित कुवा राजदेवी मन्दिरको जग्गामा करिब १०० घर निर्माण गरिएको आरोप लागेको छ।
त्यसैगरी अपांग संघ पछाडि आँखा अस्पतालदेखि पूर्व रहेको रेवासी कुटीको जग्गामा पनि १०० घर निर्माण गरिएको र दिपेन्द्र यादव, वृजकुमार यादव, पूर्वमन्त्री महेन्द्र यादव, प्रकाश मिश्र र भरत सिंहले नामदेव दाससँग सम्बन्धित दुई बिगाहा जमिन हालै बिक्री गरिएको जसमा चुनावअघि नै केही भाग बिक्री गरिएको भनी आरोप लागेको छ।











