गुडिरहेको अवस्थामा अचानक आगो लागेर खरानी बन्यो बजाज पल्सर, गुणस्तरमा गम्भीर प्रश्न

७ बैशाख २०८३, सोमबार १६:४२

काठमाडौँ । बजाज पल्सर मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक आगलागी भएर खरानी बनेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा सोमबार गुडिरहेको अवस्थामा आगो लागेर जलेर नष्ट भएको हो ।

सडकमा गुडिरहेको सवारीसाधन करिब दिउँसो २ः३० बजे तिर एक्कासी आगलागी भएको हो । प्रारम्भिक विवरणअनुसार मोटरसाइकल चलाइरहेका चालकले अचानक इन्जिन भागबाट धुवाँ र आगो देखेपछि तत्काल रोक्ने प्रयास गरेका थिए । तर केही सेकेन्डमै आगो तीव्र रूपमा फैलिँदै गएपछि नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन । स्थानिय बासिन्दा र ट्राफिक प्रहरी घटनास्थलमा पुगेर माटो र पानी प्रयोग गरी आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणभन्दा बाहिर गइसकेको थियो । केही क्षणमै मोटरसाइकल पूरै जलेर ध्वस्त भएको दृश्यले सडकमा लामो समयसम्म चासो र त्रास दुवै सिर्जना गर्‍यो ।

विशेषगरी बजाज ब्रान्डका केही मोडेलहरूमा यस्ता आगलागीका घटनाहरू बारम्बार हुँदै आएका छन् । नेपालका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा बजाज पल्सर मोटरसाइकल गुडिरहेको वा पार्किङ अवस्थामा आगो लागेर जलेका घटना सार्वजनिक भएका छन् । भरतपुर, पोखरा महानगरको प्रस्याङ्ग क्षेत्र, गुल्मी सदरमुकाम तम्घास तथा धरान–१३ मा समेत यस्तै प्रकृतिका घटना भएका विवरणहरू बाहिर आएका छन् । ती घटनामा पनि मोटरसाइकल अचानक तातिने, धुवाँ आउने र केही क्षणमै आगो फैलिने समस्या देखिएको बताइन्छ ।

प्रयोगकर्ताहरूले इन्धन चुहावट हुने समस्या, वायरिङ सिस्टममा कमजोरी, अत्यधिक तातो उत्पादन हुने प्रवृत्ति र लामो समयको प्रयोगपछि इन्जिनमा अनावश्यक आवाज आउने जस्ता गुनासो सार्वजनिक गरेका छन् । यस्ता गुनासोहरू व्यक्तिगत अनुभवमा आधारित भए पनि बारम्बार दोहोरिँदा त्यसले बजारमा ब्रान्डप्रतिको विश्वासमा प्रभाव पारेको छ ।

बजाज मोटरसाइकल नेपालमा लामो समयदेखि लोकप्रिय ब्रान्डमध्ये एक मानिन्छ । यसको लुक्स, पावर र मूल्य सन्तुलनका कारण युवा पुस्तामाझ यसको राम्रो माग रहँदै आएको छ । तर पछिल्लो समय केही प्रयोगकर्ताले यसको दीर्घकालीन टिकाउपन र सुरक्षा पक्षमा प्रश्न उठाउन थालेका छन् । विशेषगरी पल्सर एनएस २०० र पल्सर १५० मोडेललाई लिएर सामाजिक सञ्जालमा बढी आलोचना देखिन्छ । यी मोडेलमा आगलागीसम्बन्धी घटनाहरू बढी देखिएको भन्दै प्रयोगकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

गर्मी मौसम सुरु भएसँगै इन्धन ट्याङ्की नजिकबाट गन्ध आउने, कहिलेकाहीँ धुवाँ निस्कने र इन्जिनको वरिपरि अत्यधिक ताप महसुस हुने जस्ता अनुभवहरू पनि प्रयोगकर्ताहरूले सार्वजनिक गर्दै आएका छन् । कतिपय प्रयोगकर्ताहरूले क्लच प्लेट छिट्टै बिग्रिने, गियर सिफ्टिङ असमान हुने, सस्पेन्सन प्रणालीले अपेक्षित आराम नदिने तथा लामो प्रयोगपछि भाइब्रेशन बढ्ने जस्ता प्राविधिक समस्याको पनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा बजाज मोटरसाइकलसम्बन्धी भिडियोहरू पछिल्लो समय बढ्दै गएका छन् । युट्युब, फेसबुक र टिकटकमा “बजाज बाइकमा आगो”, “पल्सर दुर्घटना”, “इन्जिन तातेर समस्या” जस्ता शीर्षक राखेर सामग्रीहरू बनाइने प्रवृत्ति देखिन्छ । यस्ता भिडियोहरूले एकातर्फ उपभोक्ताको अनुभव सार्वजनिक गरिरहेका छन् भने अर्कोतर्फ ब्रान्डको छविमा नकारात्मक प्रभाव पारिरहेको छ ।

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी रहेको छ । तर यस्ता घटनाहरू बारम्बार सार्वजनिक भइरहँदा पनि कम्पनीको प्रतिक्रिया वा प्राविधिक स्पष्टीकरण नदिई मौन बस्ने गरेको छ । कम्पनीले यस्ता घटनाबारे गम्भीर अध्ययन र आवश्यक सुधार गर्ने सट्टा प्रायः मौनता साध्ने र घटनालाई लुकाउन खोज्ने प्रवृत्ति देखाइरहेको उपभोक्ताको गुनासो छ ।

यो पनि पढ्नुहोस्

एनएस मोडलका बजाज पल्सर बाइकमा आगो लाग्ने समस्या बढ्दै

बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*