स्टक थुप्रिएपछि ईभी आयात घट्यो: ९ महिनामा ७ हजार युनिट भित्रिए, पेट्रोल गाडीको माग किन बढ्दैछ?

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को बढ्दो चर्चा, नीतिगत प्रोत्साहन र उपभोक्तामा देखिएको उत्साहकाबीच चालु आर्थिक वर्ष २०८२।०८३ मा आयातमा अप्रत्याशित गिरावट देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चैत मसान्तसम्म ईभी आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको ९ महिनामा ७ हजार ९६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्षको सोहि अवधिमा उक्त आयात घटेर ७ हजार १७३ युनिटमा सीमित भएको छ। आयातको संरचना हेर्दा नेपालमा भित्रिएका अधिकांश ईभी चीनबाट आएको देखिन्छ भने भारत दोस्रो स्थानमा रहेको छ। ५० किलोवाटसम्मका साना क्षमताका ईभीमध्ये २ हजार ७८३ युनिट आयात भएकोमा चीनबाट १ हजार ५४६ र भारतबाट १ हजार २३४ युनिट आएका छन्। बाँकी ३ युनिट इन्डोनेसियाबाट आयात भएका छन्।
त्यस्तै, ५१ देखि १०० किलोवाट क्षमताका ईभीमा चीनको वर्चस्व देखिन्छ। चीनबाट ३ हजार ६२४ युनिट र भारतबाट ७८९ युनिट भित्रिएका छन्। उच्च क्षमताका १०१ देखि २०० किलोवाटसम्मका ईभीमा पनि चीनबाट ७१० युनिट आयात हुँदा जर्मनीबाट मात्र २६ युनिट भित्रिएका छन्।
१८ अर्ब ६२ करोड २३ लाख रुपैयाँ बराबरका ईभी आयात भएका छन् भने सरकारले यसबाट ११ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
ईभी आयातमा आएको गिरावटको प्रमुख कारण बजारमा थुप्रिएको ठूलो स्टक हो। चालु आर्थिक वर्षको सुरुवातमा बजेटमार्फत कर दर बढ्न सक्ने आशंकामा व्यवसायीहरूले आक्रामक रूपमा आयात गरेका थिए। कर बढ्ने हल्लाका कारण झण्डै ६ हजार युनिट ईभी एकैपटक भित्र्याइयो। यसबीचमा देखिएको ‘जेन–जी आन्दोलन’ले अटो बजारमा थप धक्का पुरायो । आन्दोलनका कारण देशभर आर्थिक गतिविधि सुस्त बनेपछि त्यसको सीधा असर अटो उद्योगमा परेको हो। अटो शोका क्रममा देखिएको उत्साहले धेरै ग्राहकले गाडी बुकिङ गरे । तर, आन्दोलन र अस्थिरताले गर्दा बुकिङ रद्द गर्ने क्रम बढ्दै गयो। जस कारण चालु आर्थिक वर्षमा स्टक भएका सवारी बिक्री तिर ब्यवसायीहरु लागेको देखिन्छ ।
यसबीचमा पेट्रोल गाडीको आयात भने उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको ९ महिनामा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो। गत वर्ष चैतसम्म २ हजार ७४२ युनिट मात्र पेट्रोल कार आयात भएका थिए।
यद्यपि, दीर्घकालीन रूपमा इन्धन संकट, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वातावरणीय दबाबका कारण पेट्रोल गाडीको माग स्थायी रूपमा बढ्ने सम्भावना कम देखिन्छ।











