अर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेश मन्त्रीबीच लगानी, सुशासन र विकास साझेदारीमा छलफल

८ बैशाख २०८३, मंगलवार १८:०२

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री एसपल कपुरबिच मंगलवार अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

यस अवसरमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा गहन छलफल गरेका थिए ।

उक्त छलफलमा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानून निर्माणद्धारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे । अमेरिकी लगानीकर्ता तथा गैर आवासिय नेपाली लगानीकर्ताहरूबाट विशेष गरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको समेत सो अवसरमा बताए ।

अमेरिकी सहायक विदेश मन्त्री कपुरले नेपाल र अमेरिका बिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे। हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेको समेत बताए। सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन जस्ता सँस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिए ।

उक्त वैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदुत स्कट अर्बोम सँगै अमेरिकी राजदुतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*