ईभी सवारीको भाडा बढेको छैन, नियम उल्लंघन भए कडा कारबाही गर्ने यातायात विभागको चेतावनी

८ बैशाख २०८३, मंगलवार १८:२५

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधन (ईभी) को भाडादर नबढाइएको स्पष्ट पारेको छ। विभागले हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिन भएका सार्वजनिक सवारी साधनका लागि मात्र लागू भएको जनाएको हो।

विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार गत चैत २५ गते भाडा वृद्धि गर्ने निर्णय गरिएको भए पनि उक्त निर्णय विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ।

हाल केही विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल गरिरहेको तथा यात्रुलाई टिकट नदिएको गुनासो आएपछि विभागले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

विभागका अनुसार विद्युतीय सवारी साधनमा साविककै भाडादर कायम रहनेछ। साथै यातायात सेवा प्रदायकले यात्रुले तिरेको भाडाको अनिवार्य टिकट दिनुपर्ने व्यवस्था रहेको र सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

विभागले नियम विपरीत विद्युतीय सवारी साधनले बढी भाडा लिएको वा टिकट नदिएको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*