११ सहकारीका ऋणीलाई १५ दिनभित्र साँवा–ब्याज बुझाउन सरकारको अल्टिमेटम

९ बैशाख २०८३, बुधबार १३:०१

काठमाडौं । सरकारले समस्याग्रस्त घोषित ११ सहकारी संस्थाका ऋणीहरूलाई हर्जानासहित साँवा–ब्याज भुक्तानी गर्न १५ दिनको अन्तिम समयसीमा दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई तोकिएको अवधिभित्र काठमाडौंको बुद्धनगरस्थित कार्यालयमा उपस्थित भई बाँकी साँवा, ब्याज तथा हर्जाना बुझाउन निर्देशन दिएको हो।

समितिले तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। ऋणीहरूको नाम–थर सार्वजनिक गर्ने, उनीहरू तथा परिवारका सदस्य र जमानीकर्ताको सम्पत्ति तथा बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने र सार्वजनिक सेवा–सुविधा समेत बन्द गराउनेसम्मका कदम चालिने जनाइएको छ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार धितो राखिएको सम्पत्ति लिलामी बिक्री गरी ऋण असुल गर्ने प्रक्रिया पनि अघि बढाइने समितिले जनाएको छ। यस क्रममा ऋणी र जमानीकर्ताको विवरण सार्वजनिक गर्दै कानुनी कारबाही अगाडि बढाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*