सीमानामा थप कडाइ गर्न प्रहरीलाई आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणका लागि थप कडाइ गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत बुधबार आयोजित निर्देशन कार्यक्रममा उनले सरकारका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आफ्नो जिम्मेवारी क्षेत्रमा हुने कुनै पनि आपराधिक क्रियाकलाप रोक्न सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। त्यसका आधारमा आवश्यक सुरक्षा रणनीति अपनाएर प्रहरी परिचालन अझ प्रभावकारी बनाउन उनले जोड दिएका छन्।
सीमा नाकामा हुने अपराध नियन्त्रणका लागि ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै उनले लागूऔषध उत्पादन, ओसारपसार र कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्तालाई सुधारात्मक कार्यक्रममार्फत नियन्त्रण गर्न प्रहरी अझ सक्रिय हुनुपर्ने बताएका छन्। साथै गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ र अदालतका फैसला कार्यान्वयनमा तीव्रता दिनसमेत निर्देशन दिएका छन्।
उनले प्रहरी संगठनभित्र व्यावसायिकता अभिवृद्धि गर्दै नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखी नागरिक सुनुवाइमार्फत विश्वास बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन्। गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिएका छन्।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले पनि समसामयिक विषयमा निर्देशन दिएका थिए। साथै प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायत उच्च अधिकारीहरूको उपस्थिति तथा देशभरका विभिन्न प्रहरी इकाइका प्रमुखहरूको भर्चुअल सहभागिता रहेको थियो।











