३७ बीमा कम्पनीहरुमध्ये कस्को चुक्ता पुँजी कति ?

१० बैशाख २०८३, बिहीबार १०:१८

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । साथै प्राधिकराणले ती कम्पनीहरुमा रहेका चुक्ता पुँजी समेत सार्वजनिक गरेको छ। तीन विदेशी कम्पनी बाहेक सबै बीमा कम्पनीहरु पुँजीको तयारीमा लागेको देखिएको छ।

विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स ८ अर्ब २० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजीका साथ अग्रस्थानमा देखिएको छ। त्यस्तै हिमालयन लाइफको पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ उल्लेख छ। मेट लाइफ ९एलिको० भने विदेशी बीमकको शाखाको रूपमा सञ्चालनमा रहेको जानकारी दिइएको छ।

निर्जीवन बीमातर्फ पनि १४ वटै कम्पनीहरू सूचीकृत छन्, जसमा शिखर इन्स्योरेन्सको २ अर्ब ९२ करोड, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड र सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। यस क्षेत्रमा दि ओरियन्टल र नेशनल इन्स्योरेन्सले विदेशी शाखाका रूपमा सेवा दिइरहेका छन्। पुनर्बीमातर्फ सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको १३ अर्ब ४२ करोड र निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्सको १० अर्ब ६५ करोड रुपैयाँ पूँजी रहेको छ।

प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् ।
७ वटा लघुबीमा कम्पनीहरूको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको छ। जसमा नेपाल माइक्रो, गार्डियन माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफले सर्वसाधारण शेयर निष्काशन गरेर ७५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन् । स्टार, प्रोटेक्टिभ र ट्रष्ट माइक्रो लाइफले साढे ५२ करोड रुपैयाँको चुक्ता पूँजी कायम गरेका छन् भने सर्वसाधारणमा शेयर निष्काशनको लागि सेबोनमा आवेदन समेत दिएका छन् । सात वटा लघु बीमा कम्पनीहरुले विभिन्न सहरहरूबाट कारोबार गरिरहेका छन्।

यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*