माछापुच्छ्रे बैंकको ‘एमबिएल आईटी कर्जा’: आईटी उद्यमीलाई सहज वित्तीय पहुँच

१० बैशाख २०८३, बिहीबार १७:१८

काठमाडौं । माछापुच्छ्रे बैंकले सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्यसहित ल्याइएको यस योजनाले आईटी क्षेत्रमा भइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । साथै, नेपालमा तीव्र रूपमा विकास भइरहेको सूचना प्रविधि क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

यस कर्जा योजनामार्फत नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूलाई चालू पुँजी व्यवस्थापन, पूर्वाधार विकास तथा व्यवसाय विस्तारका लागि सहज वित्तीय पहुँच उपलब्ध गराइनेछ । बैंकले यो योजना विशेषगरी स्टार्टअप तथा विस्तारको चरणमा रहेका आईटी कम्पनीहरूलाई लक्षित गरेको जनाएको छ ।

योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा विधिवत् दर्ता भएका व्यवसायहरू मात्र योग्य हुनेछन् । यसमा आईटी तथा सफ्टवेयर फर्म (एकल वा साझेदारी) तथा प्राइभेट लिमिटेड कम्पनीहरू समावेश गरिएका छन् । साथै, यस्ता कम्पनीहरूले प्यान तथा भ्याट लगायतका करहरू नियमित रूपमा बुझाएको हुनुपर्ने शर्त राखिएको छ ।

बैंकका अनुसार कर्जा लिन इच्छुक कम्पनीहरू सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेशिन लर्निङ जस्ता क्षेत्रमा सक्रिय हुनुपर्नेछ । साथै, ती कम्पनीहरू कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*