अर्थमन्त्रालयले भन्यो, ‘लघुवित्तमा उच्च खर्च, महँगो सेवा र बढ्दो निष्क्रिय कर्जा’

१४ बैशाख २०८३, सोमबार १७:५१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा लघुवित्त क्षेत्रको अवस्था, चुनौती र अवसरबारे विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ।

श्वेतपत्रअनुसार लघुवित्त वित्तीय संस्थाले बिनाधितो कर्जा प्रवाह गर्ने भएकाले यस क्षेत्रको वित्तीय सेवा शुल्क तुलनात्मक रूपमा महँगो देखिएको उल्लेख गरिएको छ। त्यस्तै, दुर्गम तथा पहुँचबाहिरका क्षेत्रमा समेत सेवा विस्तार गर्नुपर्ने बाध्यताका कारण सञ्चालन खर्च पनि उच्च हुने गरेको औंल्याइएको छ।

प्रतिवेदनमा पछिल्लो समय ऋण नतिर्न उक्साउने प्रवृत्ति बढ्दै जाँदा लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा (एनपीए) वृद्धि भएको उल्लेख गरिएको छ। यसले संस्थाहरूको वित्तीय स्वास्थ्यमा दबाब सिर्जना गरिरहेको पनि श्वेतपत्रमा जनाइएको छ।

यद्यपि, लघुवित्त वित्तीय संस्थाहरूले देशमा वित्तीय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालिएको छ। २०८२ माघसम्म यस्ता संस्थाहरूबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ बचत परिचालन भएको र ५ खर्ब ८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको तथ्यांक प्रस्तुत गरिएको छ।

त्यसैगरी, लघुवित्त संस्थाबाट सेवा लिने सदस्यहरूको संख्या २७ लाख २२ हजार पुगेको उल्लेख गर्दै यस क्षेत्रको सामाजिक प्रभाव उल्लेखनीय रहेको जनाइएको छ।

श्वेतपत्रमा अझै पनि केही क्षेत्रमा उच्च गरिबी कायम रहेको सन्दर्भमा लघुवित्त संस्थाहरूलाई गरिबी निवारण र महिला सशक्तीकरणतर्फ केन्द्रित सामाजिक बैंकिङको अवधारणामा थप उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*