३० हजार घुस लिने खाद्य विभागका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खाद्य उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको पुष्टि भएपछि आयोगले उनलाई बिहीबार आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार चौधरीले उद्योग नवीकरणको काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिँदै घुसका लागि बार्गेनिङ गरेका थिए।
सूचनाका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर गरेको पुष्टि भएपछि आयोगले ३० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
AM7Fr8










