कृषि विकास बैंकले ९ महीनामा कमायो १ अर्ब ३९ करोड नाफा, अन्य वित्तीय सूचक कस्तो?

१५ बैशाख २०८३, मंगलवार ०६:१२

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण अनुसार चालू आवको ९ महीनामा १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यद्यपि यो बैंकले गत आवको चैत मसान्तसम्म कमाएको १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफाको तुलनामा २४.४२ प्रतिशतले घटेको हो। चालू आवमा बैंकको ब्याज आम्दानीमा वृद्धि भए तापनि इम्पेयरमेन्ट चार्ज बढेका कारण नाफामा दबाब परेको हो।

गत आवको चैत मसान्तसम्म ५ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म १०.६९ प्रतिशतको वृद्धि सहित ६ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

बैंकले गत चैत मसान्तसम्म इम्पेयरमेन्ट चार्ज बापत ९१ करोड ६८ लाख रुपैयाँ छुट्याएकोमा चालू आवको चैत मसान्तसम्म १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ इन्पेयरमेन्ट चार्ज बापत छुट्याएको छ।

यता समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ५८ करोड ५३ लाख रुपैयाँबाट ७ प्रतिशतले वृद्धि भई ८ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँबाट १८.३९ प्रतिशतले घटेर २ अर्ब १२ करोड ९ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँबाट घटेर १ अर्ब २५ करोड १४ लाख रुपैयाँमा झरेको छ। बैंकको प्रतिशेयर आम्दानी १५.४० रुपैयाँबाट झरेर १०.७१ रुपैयाँमा झरेको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२८.७८ रुपैयाँ र बेस रेट ५.०१ प्रतिशत रहेको छ।

चुक्ता पूँजी १९ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १७ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले चैत मसान्तसम्म २ खर्ब २६ अर्ब ७४ करोड ९५ लाख रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी ३ खर्ब ३० अर्ब ७२ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब नजिक पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*