आज साँझ ७ बजेसम्म सुकुम्बासीले बस्ती खाली गर्नुपर्ने, भोलि बिहानै डोजर चलाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारमा अनधिकृत रूपमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले हिजो सूचना जारी गर्दै यस्ता बस्तीमा बसोबास गरिरहेका सबैले आज साँझ ७ बजेसम्म घरटहरा पूर्ण रूपमा खाली गर्न निर्देशन दिएको हो।
वर्षौंदेखि नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अवैध रूपमा बसोबास गर्दा नदीको प्राकृतिक बहावमा अवरोध, शहरी पूर्वाधारमा असर र मानव जीवनमै जोखिम बढेको उल्लेख गर्दै प्रशासनले घरटहरामा बसोबास गर्ने व्यक्ति, भाडामा बस्ने, पसल सञ्चालन गर्ने सबैलाई खाली गर्न आग्रह गरेको छ।
प्रशासनले नागरिकलाई आफ्ना सरसामान, लत्ताकपडा तथा घरपालुवा जनावर सुरक्षित स्थानमा तत्काल सार्न आग्रह गरेको छ। विशेषगरी अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती तथा वृद्धवृद्धालाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनिएको छ। आवश्यक परेमा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरी सहयोग लिन सकिने पनि उल्लेख गरिएको छ।
प्रशासनका अनुसार तोकिएको समयभित्र बस्ती खाली नगरेमा भोलि बिहान ६ बजेदेखि डोजर प्रयोग गरी घरटहरा हटाउने कार्य शुरु गरिनेछ। सो क्रममा कसैले अवरोध गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ। प्रशासनले संरचना भत्काउँदा हुने व्यक्तिगत क्षतिको जिम्मेवारी स्वयं बसोबासकर्तामै रहने प्रशासनले बताएको छ।
यसैबीच हटाइएका परिवारलाई सरकारले तोकेको न्यूनतम आधारभूत सुविधा भएको स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिने पनि जानकारी दिएको छ। साथै वास्तविक भूमिहीन सुकुम्बासीको पहिचानका लागि छिट्टै लगत संकलन र छानबिन प्रक्रिया अघि बढाइने तथा आगामी १० देखि १५ दिनभित्र उपयुक्त बसोबास व्यवस्थाको तयारी भइरहेको प्रशासनले जनाएको छ।











