प्राइम कमर्सियल बैंकको नाफा ३८ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण केलाएर हेर्दा बैंकले नाफा, आम्दानी सहितका वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गर्न सफल भएको छ।
गत आवको तेस्रो त्रैमाससम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ३८.५८ प्रतिशतको भारी वृद्धि सहित ३ अर्ब ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँबाट २.७० प्रतिशतले बढेर ६ अर्ब ८४ करोड १२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८ अर्ब ३४ करोड ३८ लाख रुपैयाँबाट ६.७३ प्रतिशतले बढेर ८ अर्ब ९० करोड ५५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब ३३ करोड १५ लाख रुपैयाँबाट घटेर १ अर्ब ५४ करोड ३७ लाख रुपैयाँमा झरेको कारण खुद नाफासँगै सञ्चालन मुनाफा पनि ३ अर्ब ७१ करोड ७८ लाख रुपैयाँबाट ३१.६३ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
यता बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड २३ लाख रुपैयाँबाट घटेर ७७ करोड ३० लाख रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँबाट बढेर १९.६६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ५.६५ प्रतिशतबाट बढेर ६.३९ प्रतिशत पुगेको छ। प्रतिशेयर नेटवर्थ १७१.२८ रुपैयाँ र बेस रेट ५.२७ प्रतिशत रहेको छ।
बैंकको चुक्ता पूँजी २० अर्ब ९५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब १६ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब २२ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ७१ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य ३ खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ।











