गरिमा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफामा ७९ प्रतिशतको उछाल

१५ बैशाख २०८३, मंगलवार ०९:२४

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफासँगै अधिकांश वित्तीय सूचकमा उल्लेख्य वृद्धि देखिएको हो।

बैंकले गत आवको चैत मसान्तसम्म (९ महीनासम्म) ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा त्यसको तुलनामा ४२.९१ प्रतिशतको भारी वृद्धि सहित १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणले देखाएको छ।

यस वर्ष बैंकको आम्दानीमा वृद्धि भएको र इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न मद्दत पुगेको हो। बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २ अर्ब ६६ करोड ९७ लाख रुपैयाँबाट ४.८७ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने इम्पेरमेन्ट चार्ज ७१ करोड ५९ लाख रुपैयाँबाट घटेर ३९ करोड ४ लाख रुपैयाँमा झरेको छ।

जसकारण बैंकको कुल सञ्चालन आम्दानी ३ अब ७ करोड १३ लाख रुपैयाँबाट ८.३९ प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा १ अर्ब ४ करोड ९१ लाख रुपैयाँबाट ४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १६ लाख रुपैयाँ नाघेको छ।

चुक्ता पूँजी ६ अर्ब २ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४४ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले चैत मसान्तसम्म आफ्ना ग्राहकमा ७६ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरी त्यसबाट ९४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य १ खर्ब ८ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

यता बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.२२ रुपैयाँबाट बढेर २३.२१ रुपैयाँ पुग्दा खराब कर्जा ४.७८ प्रतिशतबाट सामान्य घटेर ४.७७ प्रतिशत कायम भएको छ। प्रतिशेयर नेटवर्थ १६७.५८ रुपैयाँ रहेको बैंकको बेसरेट ५.३५ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४ लाख रुपैयाँबाट ७८.९६ प्रतिशत वृद्धि भई ६२ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*