राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी संस्थागत क्षमतामा कमजोरः अर्थमन्त्रालय

१५ बैशाख २०८३, मंगलवार ०९:२८

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्र अनुसार सार्वजनिक संस्थानहरूमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।

वित्तिय र व्यवस्थापकिय रुपमा सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको संस्थागत क्षमतामा भने कमजोर रहेको मन्त्रालयले औल्याएको छ।

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको वित्तिय अवस्थादेखि व्यवस्थापकीय अवस्था नाजुक रहेको सरकारले औल्याएको छ।

फागुन २०८२ सम्मको तथ्यांक अनुसार सरकारको पूर्ण स्वामित्वमा रहेका २० र अधिकांश स्वामित्व रहेका २५ गरी कुल ४५ सार्वजनिक संस्थान सञ्चालनमा छन् ।

सञ्चालनमा रहेका यी संस्थानमध्ये २८ वटा नाफामा छन् भने १५ वटा घाटामा र २ वटा संस्थान बन्द अवस्थामा छन् ।मन्त्रालयका अनुसार असार २०८१ सम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
यस कुल लगानीमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ८ करोड छ ।

यति ठूलो लगानी भए तापनि लगानीको तुलनामा प्रतिफल भने अत्यन्त न्यून देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले कुल सेयर लगानीको तुलनामा २.४ प्रतिशतमात्र अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ लाभांश प्राप्त गरेको स्थितिपत्रमा उल्लेख छ ।संस्थानहरूको कमजोर वित्तीय अवस्थाका साथै सुशासनमा समेत समस्या देखिएको छ ।

कतिपय संस्थानको नियमित लेखा परीक्षण समेत हुन नसक्दा तिनीहरूको वास्तविक सञ्चित नोक्सानी र सम्भाव्य दायित्व यकिन गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*