वित्तीय विवरणलाई शेयर बजारको रातो कार्पेटः डुब्दै लगानीकर्ताको लगानी, अझै किन त्रसित ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेलगत्तै सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। वित्तीय सूचकहरू समग्रमा सन्तोषजनक देखिए पनि त्यसले बजारमा अपेक्षित सकारात्मक माहोल सिर्जना गर्न सकेन। कारोबार सुरु भएको पहिलो दिनदेखि नै सूचक घट्न थालेको छ ।
पछिल्ला दिनहरूमा बजार निरन्तर ओरालो लाग्दै जाँदा कारोबार रकमसमेत घट्दो क्रममा देखिएको छ । कारोबारमा आएको सुस्तताले लगानीकर्ताको मनोबल कमजोर भएको प्रष्ट पार्छ । विशेषगरी छोटो अवधिका लगानीकर्ताहरूले जोखिम न्यूनीकरणका लागि सेयर बिक्री बढाउँदा बजारमा बिक्री चाप अझै कायम रहेको छ। यसले सम्पत्ति मूल्यमा थप गिरावट ल्याउँदै बजारलाई दबाबमा राखेको विश्लेषण गरिएको छ ।
यसैबीच, केही व्यवसायी तथा व्यावसायिक समूहसँग सम्बन्धित अनियमितता र कारबाहीका समाचारहरूले पनि बजारमा मनोवैज्ञानिक प्रभाव पारेको छ। ठूला लगानीकर्ता मानिने व्यक्तिहरू पक्राउ पर्न थालेपछि बजारमा अनिश्चितता बढेको छ। यस्ता घटनाले लगानीकर्तामा त्रास र सतर्कता दुवै बढाएको छ ।
यद्यपि नियामक निकायहरूले भने यस्ता घटनालाई सेयर बजारसँग प्रत्यक्ष रूपमा जोड्न नहुने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार बजारको नियमित अनुगमन भइरहेको छ र वित्तीय प्रणाली समग्रमा स्थिर अवस्थामा रहेको छ । साथै, ब्याजदरमा आएको कमी, तरलताको सुधार तथा आर्थिक गतिविधिमा देखिएको क्रमिक वृद्धि जस्ता आधारभूत पक्षहरूले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक आधार दिने विश्वास व्यक्त गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २७७०.२६ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक विकास बैंकको १.२२ प्रतिशत। होटल तथा पर्यटन समूहको २.५६ प्रतिशत, हाइड्रोपावर समूहको १.७४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार ४२ कम्पनीको शेयर मूल्य बढेको भने २१३ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











