बागमती प्रदेशबाट मात्रै ६३ अर्ब बीमाशुल्क संकलन, अन्य प्रदेशबाट कति?

१३ बैशाख २०८३, आईतवार १३:११

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत्र मसान्त (तेस्रो त्रैमासिक) सम्मको जीवन बीमा व्यवसायको वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार यस अवधिमा मुलुकभरका जीवन बीमा कम्पनीहरूले विभिन्न बीमालेखहरू मार्फत कुल १ खर्ब ४३ अर्ब ८१ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस संकलनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा उच्च रहेको छ भने कर्णाली प्रदेशको योगदान सबैभन्दा कम देखिएको छ।

प्रादेशिक विवरण अनुसार बागमती प्रदेशबाट मात्रै ६३ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसैगरी लुम्बिनी प्रदेशबाट २२ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ र कोशी प्रदेशबाट १७ अर्ब ११ करोड ५६ लाख रुपैयाँ संकलन भएको छ। अन्य प्रदेशहरूको विवरण हेर्दा गण्डकी प्रदेशबाट १४ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ, मधेश प्रदेशबाट १३ अर्ब ३ करोड ५२ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट ८ अर्ब ७० करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको देखिन्छ। दुर्गम मानिएको कर्णाली प्रदेशबाट भने यस अवधिमा ४ अर्ब २७ करोड ४८ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएको छ।

बीमालेखका प्रकारका आधारमा हेर्दा सावधिक जीवन बीमा मार्फत सबैभन्दा बढी ५८ अर्ब २ करोड ६६ लाख रुपैयाँ संकलन भएको छ। यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट २७ अर्ब १६ करोड ५२ लाख रुपैयाँ र बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाबाट २३ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि लक्षित वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २ अर्ब ५० करोड ७५ लाख रुपैयाँ संकलन भएको देखिन्छ। साथै न्यून आय भएका वर्गलाई समेट्ने लघु जीवन बीमातर्फ भने २ अर्ब ५० करोड ४१ लाख रुपैयाँ संकलन भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*