देशभर फैलिँदै खोटा नोटको जालो : ९ महिनामा ९ करोड ४३ लाख बरामद, नियन्त्रणमा उदासिन नियामक

१३ बैशाख २०८३, आईतवार १५:३१

काठमाडौँ । छिटो धनी बन्ने सोच र आर्थिक लाभप्रतिको बढ्दो आकर्षणले नेपाली बजारमा नक्कली (खोटा) नोटको कारोबार पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । छिटो धनी बन्ने लोभ, संगठित आपराधिक सञ्जाल र सीमापार हुने अवैध कारोबारका कारण काठमाडौँ उपत्यकासहित देशभरबाट नक्कली नोटको बिगबिगि रहेको हो ।

चालु आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा नै झण्डै साढे ९ करोड नक्कली नोट बरामद भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा नेपाल प्रहरीले देशभरबाट ९ करोड ४३ लाख ७३ हजार ६६४ नक्कली नोट नियन्त्रणमा लिएको हो ।

उक्त नक्कली नोट गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७३ गुणाले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा प्रहरीले १२ लाख ८४ हजार ८५२ रुपैयाँ नक्कली नोट बरामद गरेको थियो ।

नक्कली नोटको कारोबारमा संलग्न व्यक्तिहरूको संख्या पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ५३ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ३६ जना पुरुष, ५ जना महिला तथा १० जना विदेशी नागरिक रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ जना पक्राउ परेका थिए । पक्राउ संख्यामा ठूलो परिवर्तन नभए पनि बरामद नक्कली नोटको परिमाणमा आएको अत्यधिक वृद्धि भने सुरक्षा निकायका लागि चिन्ताको विषय बनेको छ ।

नक्कली नोटको कारोबार पछिल्ला दिनमा संगठित स्वरूपमा विस्तार हुँदै गएको छ । विशेषगरी भारतसँग खुला सीमा जोडिएका जिल्लाहरूमा यस्ता गिरोह सक्रिय रहेको आशंका गरिएको छ । सीमावर्ती क्षेत्रमार्फत हुने अवैध कारोबारले नेपालको आर्थिक सुरक्षा प्रणालीमा प्रत्यक्ष असर पारिरहेको देखिन्छ । सीमामा कडाइ गर्दा पनि विभिन्न उपाय अपनाएर नक्कली नोट भित्र्याउने प्रयास भइरहेकाले चुनौती थपिएको सुरक्षा निकायको विश्लेषण छ ।

सुरक्षा निकायले भने नक्कली नोट नियन्त्रणका लागि नियमित निगरानी, छापा तथा अनुसन्धान कार्यलाई तीव्र बनाइएको जनाएको छ । देशभर शंकास्पद गतिविधि भएका स्थानहरूमा सूक्ष्म अध्ययन गर्ने, सूचना संकलन गर्ने तथा आवश्यक परेमा आकस्मिक छापा मार्ने कार्य भइरहेको छ । सिभिल पोशाकमा समेत प्रहरी परिचालन गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको बताइएको छ । सीमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबार बढी देखिएको कारण थप कडाइका साथ चेकजाँच भइरहेको पनि प्रहरीको दाबी छ । खुला सीमाका कारण हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विशेष रणनीति अपनाइएको भए पनि पूर्ण नियन्त्रण भने अझै चुनौतीपूर्ण रहेको देखिन्छ ।

यसैबीच, नक्कली नोट नियन्त्रणमा नेपाल राष्ट्र बैंकको भूमिका पनि प्रश्नको घेरामा परेको छ । मुद्रा व्यवस्थापन र मौद्रिक सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको राष्ट्र बैंकले नक्कली नोटको पहिचान, नियन्त्रण र रोकथाममा अझ सक्रिय भूमिका खेल्नुपर्ने अपेक्षा भए पनि हालसम्मको अवस्था पर्याप्त नभएको टिप्पणी भइरहेको छ । राष्ट्र बैंकले नेपाली रुपैयाँको सुरक्षा विशेषता (सेक्युरिटी फिचर) बलियो रहेको दाबी गर्दै आएको भए पनि व्यवहारमा नक्कली नोट नियन्त्रण बाहिर जाँदै गएको तथ्यले यो दाबीमाथि प्रश्न उठाएको छ । बैंकले जनचेतना अभिवृद्धि गर्नुपर्ने, नागरिकलाई नक्कली नोट चिन्ने तरिका सिकाउनुपर्ने र डिजिटल माध्यमबाट सचेतनामूलक सामग्री प्रवाह गर्नुपर्ने अपेक्षा भए पनि त्यसअनुसारको सक्रियता कमजोर देखिएको छ ।

कानुनी रूपमा नक्कली नोट कारोबारमा संलग्न व्यक्तिलाई सात वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । साथै ७० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान पनि रहेको छ । नक्कली नोट बनाउने, ओसारपसार गर्ने, चलनचल्तीमा ल्याउने, किनबेच गर्ने वा कुनै पनि रूपमा प्रयोग गर्ने कार्य दण्डनीय अपराध मानिन्छ ।

यो पनि

ईसेवालगायत वालेट ठगी भयावह: ९ महिनामा २४ करोड गायब, प्रहरी मैदानमा हुँदा कहाँ चुक्यो राष्ट्र बैंक ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*