ब्लु इनर्जी परियोजनाको लागतमा अस्वाभाविक वृद्धि, ऋण जोखिमबारे उठ्यो प्रश्न

काठमाडौं । ब्लु इनर्जी लिमिटेडसँग सम्बन्धित जलविद्युत् परियोजनामा लागत निर्धारण र लगानी संरचनामाथि प्रश्न उठेको छ। करिब १६ अर्ब २४ करोड रुपैयाँ लागत देखाइएको यो परियोजनामा प्रवर्द्धक र बैंकबीचको अनुपात सामान्य ३०ः७० को सट्टा २५ः७५ अपनाइएकाले बैंकको ऋण निर्भरता अस्वाभाविक रूपमा उच्च देखिएको छ।
परियोजनामा विभिन्न शीर्षकमा खर्च बढाएर देखाइएको पनि आशंका उत्पन्न भएको छ। डिजाइन, प्रवद्र्धक शुल्क, भ्रमण खर्चदेखि विदेशी इन्जिनियरहरूको पारिश्रमिक समेत सामान्यभन्दा धेरै गुणा बढी देखाइएको छ। साथै भैपरी आउने खर्च शीर्षकमा मात्रै ७४ करोड छुट्याइएको छ। यसरी कृत्रिम रूपमा लागत बढाउँदा बैंकबाट लिने ऋण पनि बढ्ने भएकाले अन्ततः निक्षेपकर्ताको रकम जोखिममा पर्ने चिन्ता बढेको छ।
परियोजनामा संलग्न वाणिज्य बैंकहरूले यति असामान्य लागत संरचना र उच्च जोखिमयुक्त लगानीलाई कसरी स्वीकृति दिए भन्ने विषय पनि उठेको छ। कर्जा स्वीकृति प्रक्रियामा आवश्यक अध्ययन र मूल्यांकन पर्याप्त नभएको वा वेवास्ता गरिएको हुनसक्ने आशंका उत्पन्न भएको छ।
यसले नियामक निकायको निगरानी प्रभावकारितामाथि पनि प्रश्न चिन्ह खडा गरेको छ। समयमै छानबिन र सुधार नगरे बैंकिङ प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने बताइएको छ। साथै पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा कडाइ भइरहेकाले यस प्रकरणमा संलग्न पक्षहरू पनि छानबिनमा तानिन सक्ने बताइन्छ।











