संसद् छल्दै अध्यादेशमार्फत कानुन संशोधनतर्फ सरकार, थप तीन अध्यादेश राष्ट्रपतिसमक्ष पेश

१६ बैशाख २०८३, बुधबार १५:५२

काठमाडौं । सरकारले थप तीन अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेश गरेको छ । यसअघि दुईवटा अध्यादेश स्वीकृतिका लागि पठाइसकेको सरकारले मंगलबार थप तीन अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको हो ।

सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश तथा विश्वविद्यालय सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको जनाएको छ ।

यसअघि सोमबार सरकारले संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ संशोधन गर्न दुई अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

सरकारले संसद् छल्दै अध्यादेशमार्फत कानुन संशोधन गर्न खोजेको भन्दै चौतर्फी विरोध सुरु भएको छ । विपक्षी दलहरूले यस कदमलाई लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासमाथिको प्रहारका रूपमा टिप्पणी गरेका छन् ।

बुधबार बसेको विपक्षी दलहरूको बैठकले आगामी दिनमा संसदीय मोर्चाबाट सरकारमाथि दबाब बढाउने रणनीति बनाउने तयारी गरेको जनाएको छ । उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू सहभागी थिए । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका प्रतिनिधि भने बैठकमा सहभागी भएका थिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*