बीमा कम्पनीले गरे साढे ५१ अर्ब दाबी भुक्तानी, १ लाख ७५ हजार बीमा पाेलिसीकाे भुक्तानी बक्याैता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले साढे ५१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ अनुसार बीमा कम्पनीबाट ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका हुन् ।
बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने साढे १६ प्रतिशतले कम हो । बीमा कम्पनीहरुले अघिल्लो वर्षको चैत मसान्तसम्ममा ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।
चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा जीवन बीमा कम्पनीबाट १ लाख ४४ हजार ३०६ वटा दाबीको ३१ अर्ब १० करोड ७३ लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो वर्ष सोहि अवधिसम्म जीवन बीमा कम्पनीहरुले २ लाख ८१० वटा दाबीको ४५ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
समिक्षा अवधिमा निर्जीवन बीमकले १ लाख ११ हजार ७०७ वटा दाबीको २० अर्ब ४८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । उक्त भुक्तानी गत वर्षको सोही अवधिसम्म १ लाख १ हजार ७१३ वटा दाबीको १६ अर्ब ६२ करोड २८ लाख गरेका थिए ।
अझै ५२ अर्ब दाबी दिन बाँकी
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मका बीमा कम्पनीहरुले अझै ५२ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको देखिएको छ । बीमा कम्पनीहरुले अझै १ लाख ७५ हजार ४६३ दाबी भुक्तानी गर्ने बाँकी रहेको हो ।
यसअवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ६१ हजार ५१६ वटा दाबीको ५ अर्ब ५७ करोड ३१ हजार रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा ५२ हजार ६८७ दाबी संख्याको ४ अर्ब ४३ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट १ लाख १३ हजार ९४७ दाबी संख्या बापतको ४७ अर्ब १६ करोड १ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुको १ लाख ४ हजार ८७२ दाबी मध्यको ३० अर्ब ९३ करोड ६४ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको थियो ।
जेनजी आन्दोलन तथा असोज बाढीपहिरोले ठूलो भौतिक क्षतिभएपछि निर्जीवन बीमा कम्पनीमा दाबी भुक्तानीको भार थपिएको छ । सोहि कारण भुक्तानी बाँकीको आकार बढेको देखिन्छ ।
हेर्नुहोस् तथ्याङ्क












