अनलाइन बिडिङ प्रणाली ह्याक प्रकरणः ठेकेदारसहित १३ जना सीआईबीको नियन्त्रणमा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नेन्स प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार आशिष निर्माण सेवा प्रालिका सञ्चालक ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरेको हो। चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९, मण्डिखाटार बस्दै आएका गौलीलाई यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
यसअघि सीआईबीले निर्माण कम्पनी इन्कोन प्रालिका शेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिसकेको थियो। अनुसन्धानकै क्रममा राप्रपा नेता तथा कालिका कन्ट्रक्सन प्रालिका सञ्चालक बिक्रम पाण्डे र भीषण कन्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले सार्वजनिक खरिद प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी ठेक्कासम्बन्धी विवरणमा हेरफेर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कार्यले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा असर पार्नुका साथै सरकारी खरिद प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको बताइएको छ।
यस प्रकरणमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। हालसम्म १० जना निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।











