बजारमा भइरहेको अनियमित गतिविधिमा नेप्सेको नजर, ब्रोकरलाई दुई बुँदे निर्देशन जारी

१६ बैशाख २०८३, बुधबार १७:१७

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र बजारमा देखिएको अनियमित गतिविधि नियन्त्रण गर्न सबै धितोपत्र कारोबार सदस्य (ब्रोकर) लाई कडा निर्देशन जारी गरेको छ। नेप्सेले खरिद आदेश प्रविष्ट गर्ने क्रममा लगानीकर्ताको वास्तविक क्षमताभन्दा बढी आदेश हाल्ने, अस्थायी अर्डर राखेर माग उच्च देखाउने जस्ता गतिविधिले बजारमा नकारात्मक प्रभाव परेको ठहर गर्दै यस्तो निर्देशन दिएको हो।

नेप्सेले जारी गरेको पत्रमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ (१) को व्यवस्था विपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ। विशेषगरी केही ब्रोकरहरूले लगानीकर्ताको वास्तविक कोलेटरल लिमिटभन्दा बढी रकम बराबरको खरिद आदेश प्रविष्ट गर्न दिने तथा पछि रद्द गर्ने उद्देश्यले अस्थायी आदेश राख्ने प्रवृत्ति देखिएकाले त्यसलाई तत्काल रोक्न निर्देशन दिइएको हो।

निर्देशनअनुसार अब कारोबार सदस्यहरूले कुनै पनि खरिद आदेश कार्यान्वयन गर्दा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित ग्राहकबाट अग्रिम रूपमा अनिवार्य लिनुपर्नेछ। यस व्यवस्थाले लगानीकर्ताको वास्तविक वित्तीय क्षमताभन्दा बाहिरको कृत्रिम माग सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको नेप्सेले जनाएको छ।

त्यसैगरी, लगानीकर्ताको कोलेटरल लिमिटभन्दा बढी रकमको खरिद तथा बिक्री आदेश केवल रद्द गर्ने उद्देश्यले प्रविष्ट गर्नका लागि प्रणाली उपलब्ध नगराउन पनि ब्रोकरहरूलाई निर्देशन दिइएको छ। यस्तो कार्यले बजारमा कृत्रिम उतारचढाव सिर्जना गरी लगानीकर्तालाई भ्रममा पार्ने भएकाले कडाइ गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*