सुबिसुद्वारा वाइफाई–६ आधारित नयाँ इन्टरनेट सेवा सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नेपालमै पहिलोपटक वाइफाई ६ प्रविधिमा आधारित नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ। कम्पनीले पहिलोपटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाका रूपमा समावेश गरी नयाँ अवधारणा पनि ल्याएको बताएको छ।
नेपालमा वाइफाई ६ प्रविधि उपलब्ध भए पनि उच्चस्तरको सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दिने भने सुबिसु पहिलो हो। कम्पनीले गति, स्थिरता र सुरक्षालाई एकैसाथ जोड्दै प्रयोगकर्तालाई सुरक्षित इन्टरनेट अनुभव दिने लक्ष्य रहेको बताएको छ।
नयाँ सेवाअन्तर्गत यो प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज र एकै समयमा धेरै डिभाइस जडान गर्ने क्षमता प्रदान गर्ने र लो–लेटेन्सीमार्फत सहज अनलाइन अनुभव र डिभाइसहरूको ब्याट्री बचतमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ।
यसमा ’सुबिसु सुरक्षा’ नामक सुरक्षात्मक तह रहेको र यसले प्रयोगकर्तालाई हानिकारक वेबसाइट, साइबर जोखिम तथा अनधिकृत पहुँचबाट जोगाउने सुबिसुले उल्लेख गरेको छ। यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षालाई सुनिश्चित गर्दै परिवार र व्यावसायिक प्रयोगका लागि सुरक्षित ब्राउजिङ वातावरण तयार गर्ने पनि कम्पनीले जानकारी दिएको छ। ग्राहकको आवश्यकतालाई सहज बनाउन तीनवटा प्याकेज वाइफाई–६, प्रो वाइफाई–६ र इलाइट वाइफाई–६ ल्याइएको हो।











