पुँजी बजारमा राताम्यको निरन्तरताः कारोबार समेत सुस्त, किन मनोबल कमजोर छ ?

१७ बैशाख २०८३, बिहीबार १५:०९

काठमाडौँ । पछिल्लो केहि दिन यता शेयर बजार राताम्य रहेको छ । लगातारको गिरावटले नेप्से परिसूचकमा दबाब बढ्नुका साथै समग्र लगानीकर्ताको सम्पत्ति मूल्यमा समेत उल्लेखनीय कमी आइरहेको हो । बजारको यो प्रवृत्तिले छोटो समयमै उच्च नाफा खोज्ने लगानीकर्तादेखि दीर्घकालीन लगानीकर्तासम्म सबैमा निराशा बढाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेपछि बजारमा केही सकारात्मक अपेक्षा गरिएको थियो । अधिकांश संस्थाका वित्तीय सूचकहरू सन्तोषजनक देखिए पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिन नसक्दा लगानीकर्ताको विश्वास अपेक्षित रूपमा पुनःस्थापित हुन सकेको छैन । परिणामस्वरूप, सकारात्मक वित्तीय नतिजा र बजारको व्यवहारबीच असन्तुलन देखिएको विश्लेषकहरू बताउँछन् ।

पछिल्ला दिनहरूमा बजारमा कारोबार रकम पनि निरन्तर घट्दो क्रममा रहेको छ । यसले लगानीकर्ताको सक्रियता घट्दै गएको स्पष्ट संकेत दिएको छ । विशेषगरी अल्पकालीन लगानीकर्ताहरूले जोखिम न्यूनीकरणका लागि शेयर बिक्री बढाउँदा बजारमा निरन्तर बिक्री चाप सिर्जना भएको छ । सोही कारण मूल्यहरू थप दबाबमा परेर बजारको समग्र सूचक कमजोर बन्दै गएको छ ।

यसैबीच, केही व्यवसायी तथा ठूला लगानीकर्तासम्बन्धी अनियमितता र कानुनी कारबाहीका समाचारहरूले पनि बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको देखिन्छ । यस्ता घटनाले बजारमा अनिश्चितता बढाउँदा लगानीकर्तामा डर र सतर्कता दुवै एकैसाथ देखिएको छ । यसले नयाँ लगानी भित्रिन रोकिएको र विद्यमान लगानीकर्तासमेत ‘वेट एन्ड वाच’ अवस्थामा पुगेको अवस्था छ ।

यद्यपि नियामक निकायहरूले बजारको आधारभूत अवस्था कमजोर नभएको स्पष्ट गर्दै अनावश्यक त्रासमा नपर्न आग्रह गरिरहेका छन् । ब्याजदरमा आएको गिरावट, बैंकिङ प्रणालीमा सुधारिएको तरलता तथा आर्थिक गतिविधिमा देखिएको विस्तारले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७३ अकंले घटेर २७३८.७२ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । विकास बैैंक समूहको ०.४८ प्रतिशत, फाइनान्स समूहको ०.२० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०४ प्रतिशतले शेयर मूल्य घटेको छ।

बिहिबार ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*