उद्योग–व्यवसायको आवरणमा अपराध गर्नेलाई छाडिन्नः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग व्यवसायको नाममा आपराधिक काम गर्ने जो कोहीलाई पनि कानुनी कारबाहीबाट नछाडिने बताएका छन् । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीको नाममा हुने गलत गतिविधि र अपराधलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका हुन् ।
उनका अनुसार व्यवसाय र उद्योगका नाममा गलत काम गर्ने छुट कसैलाई पनि छैन । ‘गल्ती नभएका उद्योगी व्यवसायी डराउनु पर्दैन’ उनले भने, ‘तर आपराधिक काम गर्ने, उद्योगी व्यवसायीको नाममा अपराध गर्नेहरूलाई केही पनि गर्न सकिँदैन। साथीहरूलाई बचाउने नाममा अपराधीहरूलाई जोगाउन कसैलाई पनि आउनु हुँदैन।’
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रताडित गर्ने विद्यमान सरकारी नीतिहरू परिमार्जन गरिने पनि स्पष्ट पारे। तर, निजी क्षेत्रकै नाममा गलत गतिविधि गर्नेहरूमाथि भने कानुनअनुसार कडा कारबाही हुने उनको भनाइ थियो।
छलफलका क्रममा उनले नेपालमा हाल करिब ७१ लाख रोजगारी रहेको अध्ययनले देखाएको उल्लेख गर्दै थप रोजगारी सिर्जनाका लागि राजस्वका अतिरिक्त ऋण र अनुदानको प्रभावकारी परिचालन आवश्यक रहेको बताए। उनका अनुसार वर्तमान अवस्थामा राजस्वले मात्र सरकारी दायित्व धान्न नसक्ने भएकाले वैदेशिक अनुदान र ऋणको उचित व्यवस्थापन आगामी बजेटको मुख्य आधार हुने छ।
अर्थमन्त्री वाग्लेले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हाल करिब ६६ खर्ब रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०८३।८४ को अन्त्यसम्म यसलाई ७३–७४ खर्ब पुर्याउने लक्ष्य राखिएको जानकारी दिए। उनले ७० खर्बभन्दा माथिको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको तर्क पनि गरे।
‘१९ खर्बको बजेटले नै चमत्कार हुने गरी काम गर्न सकिन्छ। यसपटक बजेटमा पैसा मात्र खन्याउने होइन, नीतिगत सुधारमार्फत सकारात्मक वातावरण बनाउनु हाम्रो प्राथमिकता हो’ उनले भने।











