आज बुद्ध जयन्तीः शान्ति, करुणा र सद्भावको सन्देशसहित मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाण तीनै घटनाको सम्झनामा मनाइने यो दिवस बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महत्वपूर्ण पर्व मानिन्छ।
नेपाल बुद्धको जन्मभूमि भएकाले यो पर्व यहाँ विशेष महत्वका साथ मनाइन्छ। लुम्बिनी, बौद्धनाथ, स्वयम्भूनाथलगायत देशभरका गुम्बा तथा स्तूपहरूमा श्रद्धालुहरूको भीड लाग्ने गरेको छ। भक्तजनहरूले पूजा, ध्यान, दीप प्रज्वलन तथा परोपकारी कार्यमार्फत बुद्धका उपदेश स्मरण गर्ने परम्परा रहेको छ।
बुद्ध जयन्तीलाई शान्ति, अहिंसा, करुणा र सहिष्णुताको सन्देश फैलाउने अवसरका रूपमा समेत लिइन्छ। समाजमा सद्भाव र नैतिक जीवनशैली प्रवद्र्धन गर्न बुद्धका शिक्षाले आज पनि महत्वपूर्ण मार्गदर्शन प्रदान गरिरहेको विश्वास गरिन्छ।











