मेरो माइक्रोफाइनान्सले ९ महीनामा कमायो १४ करोड नाफा, खराब कर्जा चुलियो

१८ बैशाख २०८३, शुक्रबार ११:२७

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको ९ महीना (तेस्रो त्रैमाससम्म) १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिमा १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म ७३ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमाससम्म ८३ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको वित्तीय विवरणले देखाएको छ। आम्दानीमा वृद्धि भएको कारण कम्पनीको नाफामा वृद्धि भएको हो।

त्यसैगरी समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी ८० करोड ८० लाख रुपैयाँबाट वृद्धि भई ९१ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १८ करोड ४६ लाख रुपैयाँबाट वृद्धि भई २१ करोड २२ लाख रुपैयाँ नाघेको छ। वितरणयोग्य मुनाफा पनि ८ करोड ५५ लाखबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ नाघेको छ।

यता कम्पनीको खराब कर्जा भने बढेर चिन्ताजनक अवस्थामा पुगेको छ। गत आवको तेस्रो त्रैमाससम्म ९.४९ प्रतिशत रहेको खराब कर्जा चालू आवको चैत मसान्तसम्म बढेर १८.८४ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी पनि १२.१५ रुपैयाँबाट बढेर १३.३३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१.८७ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १ अर्ब ४८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६५ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले १५ अर्ब ५६ करोड ३० लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरी ४ अर्ब ४७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको कुल सम्पत्तिको मूल्य १८ अर्ब ३० करोड नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*