आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर “विश्व प्रेस स्वतन्त्रता दिवस” विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष मे ३ मा मनाइने यो दिवसले प्रेस स्वतन्त्रताको महत्व उजागर गर्नुका साथै पत्रकारहरूको अधिकार संरक्षण र स्वतन्त्र तथा जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा जोड दिने उद्देश्य राख्छ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि मनाउन थालिएको यस दिवसले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारस्तम्भ भएको सन्देश प्रवाह गर्दै आएको छ। यस अवसरमा विश्वभर पत्रकारहरूले सामना गरिरहेका चुनौती, जोखिम तथा दमनका घटनाबारे पनि ध्यानाकर्षण गराइन्छ।
नेपालमा पनि विभिन्न सञ्चार संस्था, पत्रकार महासङ्घ तथा सरोकारवाला निकायहरूले छलफल, अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिन्छ। प्रेस स्वतन्त्रता बिना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले पत्रकारहरूको सुरक्षा, निष्पक्षता र व्यावसायिक मर्यादाको संरक्षण आवश्यक बन्दै गएको छ।











