नागरिक घरबारविहीन हुने अवस्था आउँदैनः प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको जनाउँदै कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिइने बताएका छन्।
उनले काठमाडौं उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा कानूनबमोजिम व्यस्थापन प्रक्रिया अघि बढाइएको र यसलाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबास गर्न बाध्य नागरिकमा उठिबास हुने त्रास नियोजित रूपमा फैलाइएको बताएका छन्।
दीर्घकालीन समाधानका लागि भूमिसम्बन्धी ऐन, २०२१ का केही दफाहरू अध्यादेशमार्फत खारेज गरिएको बताउँदै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको र यसबाट भूमिहीन नागरिकको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ अघि बढिसकेको बताएका छन्।
ज्यानै जोमिममा राखेर बस्न बाध्य नागरिकका लागि सुरक्षित र व्यवस्थित स्थानान्तरण गरिने बताउँदै अन्य भूमिहीन नागरिकको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा आवश्यक निर्णय लिइने उल्लेख गरेका छन्। उनले सरकारद्वारा चालिएका कदमहरू नागरिकलाई हाटउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएको स्पष्ट पार्दै कुनै प्रकारको भ्रममा नपर्न, नआत्तिन र अपुष्ट सूचना नफैलाउन अनुरोध समेत गरेका छन्।











