सरकार सहि नीति सकारात्मक सोचका साथ अघि बढेको छ, सबै करको बोझ घटाउँछौंः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उदारवादी अर्थतन्त्रलाई सुदृढ गर्दै राजस्व नघट्ने गरी सबै करहरूको बोझ क्रमशः घटाउँदै लैजाने बताएका छन् । उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग उन्नत र प्रभावकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । ‘नयाँ सरकार काम गर्न आएको हो, हामी सबैसँग समन्वय गरेर अघि बढ्न चाहन्छौं’ उनले भने ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई पुरानो सोचबाट बाहिर आउन आग्रह गर्दै नाता–गोत र पहुँचमुखी प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘नेता नचिनेसम्म काम नै नहुने जस्ता गलत अभ्यासहरू हटाउन आवश्यक छ ।’
उनले अघिल्लो सरकारले व्यवसायिक वातावरण बिगारेको आरोप लगाउँदै इमान्दार व्यवसायीहरू प्रभावित भएको टिप्पणी गरे । ‘इमान्दार रूपमा व्यवसाय गर्न खोज्नेहरूलाई विगतका नीतिगत कमजोरीले असर गरेको छ’ उनले भने ।
वाग्लेले अबको सरकारले असल व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको स्पष्ट गर्दै निजी क्षेत्रले पनि सकारात्मक रूपमा साथ दिनुपर्नेमा जोड दिए । उनले अनावश्यक रूपमा उत्तेजित नहुन सबैलाई आग्रह गरे ।
सरकारले अपराधजन्य गतिविधि गर्नेहरूलाई भने कुनै हालतमा छुट नदिने स्पष्ट नीति लिएको छ । ‘इमान्दार व्यवसायीहरू नडराउनुहोस्, तर गलत काम गर्नेहरूलाई सरकारले छोड्दैन’ उनले चेतावनी दिए ।
आगामी बजेटलाई लिएर बोल्दै उनले निजी क्षेत्रलाई नयाँ आशाको संकेत दिने गरी बजेट ल्याइने बताए । धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै उनले सकारात्मक वातावरण सिर्जना गर्ने दिशामा सरकार अघि बढेको दाबी गरे ।
‘बजेट कस्तो आउँछ भनेर धेरै अनुमान गर्नु पर्दैन, हाम्रो पार्टीको प्रतिबद्धता पत्र पढे पुग्छ’ उनले भने । साथै, सहि र सकारात्मक नीतिका साथ सरकार अघि बढेको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले लगानीको प्रतिफलबारे उल्लेख गर्दै १ रुपैयाँ लगानीबाट ७ रुपैयाँसम्म भित्र्याउने अवस्था बनाउनुपर्ने आवश्यकता औँल्याए । साथै, अहिले देश सञ्चालनका लागि समेत ऋण लिनुपर्ने अवस्था रहेको स्वीकार गरे ।
कार्यक्रममा उनले सरकार र निजी क्षेत्रबीचको सहकार्य बिना देश निर्माण सम्भव नभएको दोहोर्याउँदै सबै पक्षलाई मिलेर अघि बढ्न आह्वान गरे ।











