अन्जन श्रेष्ठको संकल्प: उद्योगको मनोबल उकास्दै अर्थतन्त्र सुदृढ बनाउने प्रतिवद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघको नेतृत्व लिएपछि उद्योग क्षेत्रको मनोबल उकास्ने र अर्थतन्त्रलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । महासंघको ६०औं वार्षिक साधारण सभामा बोल्दै उनले ५ लाखभन्दा बढी सदस्य रहेको महासंघको नेतृत्व सम्हाल्ने अवसर पाएको उल्लेख गर्दै अब उद्योगहरूको आत्मविश्वास बढाउनेतर्फ केन्द्रित हुने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ का वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रमा अवसर र चुनौती दुवै रहेको उल्लेख गरे । उनले भने, ‘हाल सरकार स्थिर अवस्थामा रहेको छ भने बैंकिङ प्रणाली पनि पर्याप्त तरलतासहित सहज अवस्थामा छ र नीतिगत वातावरण क्रमशः सरल बन्दै गएको छ ।’ यी पक्षहरू अर्थतन्त्रका लागि सकारात्मक आधार भएको उनले बताए ।
तर चुनौतीहरू पनि गम्भीर रहेको उनले औँल्याए । मध्यपूर्वमा जारी युद्धका कारण नेपालमा समेत मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दै उनले व्यावसायिक वातावरण कमजोर हुँदा समग्र अर्थतन्त्र प्रभावित हुने धारणा राखे । व्यवसायीहरूको मनोबल कमजोर रहेको अवस्थामा अर्थतन्त्र सुधार सम्भव नहुने उनको भनाइ थियो ।
श्रेष्ठले निजी क्षेत्रलाई अझ सक्रिय भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले सकारात्मक नीति अपनाएमा अर्थतन्त्रको करिब ८२ प्रतिशत हिस्सा सक्रिय बनाउन सकिने दाबी गर्दै उनले सरकारलाई निजी क्षेत्रलाई केवल करदाता नभई सहजीकरण गर्ने साझेदारको रूपमा हेर्न आग्रह गरे । नीति निर्माणदेखि अन्तर्राष्ट्रिय स्तरसम्म निजी क्षेत्रको आवाज प्रभावकारी रूपमा उठ्नुपर्ने उनको जोड थियो ।
सरकारले व्यवसायीलाई सहज वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीलाई कर छली गर्ने नभई कर तिर्ने जिम्मेवार क्षेत्रको रूपमा हेर्ने सोच विकास गर्नुपर्ने बताए । उनले निजी लगानी विस्तार आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सरकारले अझ सहज नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
दीर्घकालीन रूपमा संरचनात्मक सुधार आवश्यक रहेको बताउँदै श्रेष्ठले सरकारसँग सहकार्य गरेर अघि बढ्ने र सरकारका प्रतिबद्धतालाई समेत साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।











