धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, अन्तिम म्याद आज

२१ बैशाख २०८३, सोमबार १३:४२

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन्। अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले आह्वान गरेको आवेदन दिने म्याद आज सोमबार सकिँदै छ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको छ । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्षा भुवनकुमार दाहाल छन् ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा रहेको समितिको सचिवालयमा इच्छुक उम्मेदवारहरूले आफ्नो विवरण बुझाउने क्रम जारी रहेको उल्लेख छ । धितोपत्रसम्बन्धी ऐनको व्यवस्थाअनुसार अध्यक्ष बन्न चाहने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, धितोपत्र व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ।

त्यस्तै, उम्मेदवार नेपाली नागरिक हुनुका साथै उच्च नैतिक आचरण भएको र सम्बन्धित क्षेत्रमा पेसागत अनुभव हासिल गरेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, वन्यजन्तु वा पुरातात्त्विक सम्पदासम्बन्धी कसुरमा दोषी ठहर भएका, कालोसूचीमा परेका र तोकिएको अवधि पूरा नभएका, विदेशी स्थायी आवास अनुमति लिएका तथा सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न व्यक्तिहरू भने प्रतिस्पर्धाबाट बाहिर रहनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*