घुसको बार्गेनिङपछि रंगेहात पक्राउ परेका अदालतका डिठ्ठाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका रौतहट जिल्ला अदालतका डिठ्ठा लव कुमार सिंहविरुद्ध आज विशेष अदालत मा आरोपपत्र दायर गरेको छ ।
रौतहटको गौर नगरपालिकास्थित जिल्ला अदालतको तहसिल शाखामा कार्यरत सिंहले अदालतको फैसला बमोजिम जग्गा फुकुवा तथा नामसारी गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।
उजुरीकै आधारमा अख्तियारको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा सिंहले अदालतको फैसला अनुसार गर्नुपर्ने काममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिएको तथा मोलमोलाइ (बार्गेनिङ) गर्दै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि भएपछि आयोगले उनीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपाने ले सोमबार जानकारी दिए ।
OT3XnI










