महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान, १३७ उम्मेदवारबीच प्रतिस्पर्धा

२२ बैशाख २०८३, मंगलवार १०:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । वैशाख २१ गते उद्घाटन भएको साधारणसभाले आज निर्वाचन प्रक्रियामा प्रवेश गरेसँगै महासंघको नयाँ कार्यसमिति चयनको औपचारिक चरण अघि बढेको हो ।

संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा मतदान नहुनेछ । प्रत्यक्ष निर्वाचनपछि निर्वाचित कार्यसमितिले आन्तरिक प्रक्रियाबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ । महासंघको नेतृत्व संरचनामा आएको यस परिवर्तनलाई संस्थागत स्थायित्व र नेतृत्व हस्तान्तरणको सहज प्रक्रियाका रूपमा हेरिएको छ ।

यसपटक ४ जना उपाध्यक्षसहित कुल ७३ पदका लागि निर्वाचन हुँदैछ । ती पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा भइरहेको छ।

जिल्ला तथा नगर उद्योग वाणिज्य समूहबाट यसपटक पहिलोपटक दुई जना उपाध्यक्ष चयन हुने व्यवस्था गरिएको छ।  त्यस्तै खुला तर्फ २२ जना, महिला कोटाबाट चार जना र विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किएको छ ।

प्रदेशगत प्रतिनिधित्वतर्फ प्रत्येक प्रदेशबाट दुई–दुई जना निर्वाचित हुने व्यवस्था छ । कर्णाली प्रदेशबाट भने उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन् भने अन्य प्रदेशमा चुनावी प्रतिस्पर्धा कायम छ ।

वस्तुगत तर्फ पनि प्रतिस्पर्धा उल्लेख्य देखिएको छ । एक जना उपाध्यक्ष पदका लागि दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ भने कार्यकारिणी सदस्यका लागि दोब्बरभन्दा बढी उम्मेदवार मैदानमा छन् । महिला प्रतिनिधित्व सुनिश्चित गर्न छुट्टै कोटा निर्धारण गरिएको छ।

एसोसिएटतर्फ उपाध्यक्ष पदका लागि दुई जना उम्मेदवार आमनेसामने भएका छन् । कार्यकारिणी सदस्यका लागि ३३ जनाको उम्मेदवारी परेकाले यो समूहमा प्रतिस्पर्धा सबैभन्दा बढी देखिएको छ ।

यसैगरी द्विराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ एक सदस्य र संस्थापक सदस्यतर्फ दुई पदका लागि पनि प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन सम्पन्न भएपछि अध्यक्ष श्रेष्ठले दुई जना महिलासहित सात जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*