ट्रु कलरमा साइबर ब्यूरो नाम राखेर ठगी गर्ने चारजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सोझासाझालाई ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले १९ गते शनिबार पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ बस्ने ३० वर्षीय दिपक लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय सौरव भुजेल, धरान उपमहानगरपालिका–१३ बस्ने २८ वर्षको सजल राई र इनरुवा नगरपालिका–६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन्।
ट्रु कलरमा ‘साइबर ब्यूरो’ नाम राखेर पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य गर्ने गरेको भन्दै ब्यूरोमा उजुरी परेपछि ब्यूरोले अनुसन्धान थालेको थियो।
अनुसन्धानको क्रममा पक्राउ परेका चार जनाका संलग्नता खुल्न आएपछि ब्यूरोबाट खटिएर गएको प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वयमा पक्राउ गरेको हो। पक्राउ परेका चारैजना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
अनलाइन ठगी गर्नेहरूले दिन प्रतिदिन नयाँनयाँ शैली अपनाउँदै सोझासाझा नागरिकलाई डर, त्रास र प्रलोभन देखाई ठगी गरिरहेका छन्। प्रहरीकै नाम समेत दुरुपयोग गरी ठगी हुनुले अनलाइन ठगीको नियन्त्रणमा चिन्ता उत्पन्न गरेको छ। प्रहरीसँग अत्याधुनिक प्रविधि नहुनु र पुरानै सीमित स्रोत साधनले मात्रै हुनुले ठगीको घटनामा नियन्त्रण हुन सकेको छैन।












