सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी यूनाइटेड अजोडको तालिम सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादमा हुने लगानी नियन्त्रण सम्बन्धी तालिम सम्पन्न गरेको छ। तालिम काठमाडौंको सुन्धारास्थित सीटीसी मलको सातौं तल्लामा सम्पन्न भएको हो।
वैशाख २० गते सम्पन्न भएको उक्त तालिम कम्पनीको बागमती प्रदेश (उपत्यका भित्र) मा कार्यरत आफ्ना कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण र आतंकवादमा लगानी निवारण सम्बन्धी ज्ञान दिने उद्देश्यले सञ्चालन गरिएको थियो।

तालिममा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल) तथा आतंकवादमा हुने लगानी नियन्त्रण (सिएफटी) सम्बन्धी नीतिगत व्यवस्था, जोखिम पहिचान, र अनुपालनका आधारभूत मापदण्डबारे विस्तृत जानकारी दिइएको थियो। सहभागीहरूलाई व्यवहारिक ज्ञानसहित कार्यस्थलमा लागू गर्न सकिने उपायहरूबारे पनि अभिमुखीकरण गरिएको कम्पनीले जनाएको छ।
संस्थाले यस्ता तालिममार्फत कर्मचारीहरूको ज्ञान र सीप अभिवृद्धि गर्दै पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीमा आधारित क्रियाकलाप विकास गर्ने लक्ष्य राखेको जनाएको छ। साथै नियामकीय मापदण्डको पालना गर्दै संस्थागत विकासलाई दिगो र विश्वसनीय बनाउने उद्देश्य सहित कार्यक्रम सञ्चालन गरिएको बताएको छ।












