राताम्य यात्रामा ब्रेकः कारोबार रकम भने खुम्चियो, किन उतार चढाब हुँदैछ ?

काठमाडौँ । लगातार चौथो दिनको गिरावटमा ब्रेक लागेको छ । बजारमा आज सामान्य सुधार आएको हो । बजार आज झिनो अकंले बढेपनि लगानीकर्तामा उत्साहको वातावरण छैन । बजार सुस्त हुँदा लगानीकर्ताले आफ्नो लगानी ‘बालुवामा पानीझैँ’ हराइरहेको अनुभूति गर्न थालेका छन् ।
धितोपत्र बोर्ड (सेबोन) हाल नेतृत्वविहीन अवस्थामा रहनु पनि बजारको मनोबल घटाउने प्रमुख कारणका रूपमा हेरिएको छ । नयाँ नेतृत्वको नियुक्ति र संस्थागत सुधार प्रक्रिया ढिलाइ हुँदा नीतिगत स्पष्टताको अभाव देखिएको छ। लगानीकर्ताहरूले आगामी नेतृत्वले बजार सुधारका लागि कस्तो भूमिका खेल्छ भन्ने विषयमा ‘पर्ख र हेर’ को अवस्थामा रहँदा तत्काल सकारात्मक वातावरण बन्न नसकेको विश्लेषण गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरे पनि त्यसको प्रभाव शेयर बजारमा अपेक्षित रूपमा देखिएको छैन। अधिकांश संस्थाको वित्तीय अवस्था सन्तोषजनक देखिए पनि त्यसले बजारमा विश्वास पुनःस्थापित गर्न सकेको छैन। सकारात्मक सूचकांकहरू हुँदाहुँदै पनि बजारले अपेक्षित प्रतिक्रिया नदिँदा लगानीकर्तामा थप अन्योल सिर्जना भएको छ।
यता, पछिल्ला दिनहरूमा कारोबार रकम पनि निरन्तर घट्दै गएको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता कमजोर हुँदै गएको संकेत दिएको छ। अल्पकालीन लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि शेयर बिक्री बढाउँदा बिक्री चाप थपिएको देखिन्छ। यद्यपि नियामक निकायहरूले बजारको आधारभूत अवस्था कमजोर नभएको स्पष्ट गर्दै अनावश्यक डर र त्रासमा नपर्न आग्रह गरिरहेका छन्। ब्याजदर घट्दो क्रममा रहनु, बैंकिङ प्रणालीमा सुधारिएको तरलता र आर्थिक गतिविधि विस्तार हुँदै जानुले दीर्घकालीन रूपमा बजारलाई सकारात्मक दिशा दिने अपेक्षा गरिएको भए पनि तत्कालका लागि ‘वेट एन्ड हेर’ को अवस्था कायमै छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २७१२.८६ बिन्दुमा कायम भएको छ । आज ३३५ कम्पनीको ७७ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ६ उपसूचक राताम्य भएको छ भने ७ कम्पनीको घटेको छ ।
मंगलबार १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ । १६ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













