सहकारी पीडितलाई राहत: जेठ पहिलो सातादेखि बचत फिर्ता, साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम आउँदो जेठको पहिलो सातादेखि फिर्ता गर्ने तयारी गरेको छ । वैशाख ९ गतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको विवरण संकलनसँगै रकम फिर्ताको प्रक्रिया अघि बढाएको हो ।
समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था रहेको छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको जनाइएको छ । पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने करिब १८ हजार बचतकर्ता रहेका छन् ।
समितिले पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना र सोभन्दा बढीलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ । सोही आधारमा प्राथमिकता निर्धारण गर्दै साना बचतकर्ताको रकम पहिले फिर्ता गरिने नीति लिइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको बताउँदै अब कार्यान्वयन चरणमा प्रवेश गर्न लागिएको जानकारी दिइन् । उनका अनुसार प्रारम्भमा साना बचतकर्तालाई प्राथमिकता दिइनेछ ।
समितिले कार्यविधि तयार पार्दै बचत फिर्ता र कर्जा असुलीलाई सँगसँगै अघि बढाउने रणनीति बनाएको छ । मागदाबी गरिसकेका बचतकर्ताको रकम जेठको पहिलो सातादेखि फिर्ता गरिने र छुट भएका बचतकर्तालाई पुनः मागदाबी गर्ने अवसर साउनको पहिलो सातादेखि उपलब्ध गराइने समितिले जनाएको छ ।












