पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन, घाटामा बिक्री गरिरहेको सरकारको दाबी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउने सम्भावना नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आउने मूल्यका आधारमा नै इन्धन बिक्री गर्नुपर्ने बाध्यता रहेकाले मूल्य घटाउन नसकिने बताएका हुन्।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा बोल्दै सचिव राउतले अन्तर्राष्ट्रिय बजारसँग जोडिएको मूल्य संरचनाका कारण सरकार दबाबमा रहेको उल्लेख गरे। उपभोक्ताहरूले निरन्तर मूल्य नियन्त्रणको माग गरिरहेका बेला उनले हाल पनि खाना पकाउने ग्यास र पेट्रोलमा सरकार घाटामा रहेर बिक्री गरिरहेको दाबी गरे।
उनका अनुसार पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गरिएमा पेट्रोलियम पदार्थको मूल्य अहिलेभन्दा अझै महँगो हुने अवस्था छ। उपभोक्तालाई थप भार नपरोस् भन्ने उद्देश्यले सरकारले पूर्ण स्वचालित मूल्य प्रणाली लागू नगरी मूल्य केही हदसम्म नियन्त्रणमै राखेर बिक्री गरिरहेको उनले जानकारी दिए।
महँगोमा खरिद गरेर सस्तोमा बिक्री गर्दा विगतमा सञ्चित भएको मुनाफा समेत सकिँदै गएको उल्लेख गर्दै उनले यस्तो अवस्थामा मूल्य समायोजन गर्नु सरकारको बाध्यता बनेको बताए। पूर्ण रूपमा बजारअनुसार मूल्य निर्धारण गरिएमा मूल्य अझ माथि जाने भएकाले सरकारले केही सहुलियत दिएर मूल्यलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो।
यसैबीच नेपाल आयल निगमका कर्मचारीहरूले बोनस लिइरहेको भन्ने चर्चालाई पनि सरकारले खण्डन गरेको छ। सचिव राउतले निगम नाफामा नरहेको अवस्थामा बोनस वितरण सम्भव नहुने स्पष्ट पार्दै लगातार तीन वर्ष नाफा आर्जन गरेपछि मात्र बोनस दिन मिल्ने प्रावधान रहेको जानकारी दिए।












