डिप्रोक्स लघुवित्तले कमायो ६८ करोड नाफा, वितरणयोग्य मुनाफामा उछाल

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा भारी वृद्धि भएको हो।
गत आवको चैत मसान्तसम्म ४२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५७.३९ प्रतिशतको वृद्धि सहित ६८ करोड १ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड १६ लाख रुपैयाँबाट ६.२१ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँबाट ६.३६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ नाघेको छ।
आम्दानीमा वृद्धि भएसँगै सञ्चालन मुनाफा ६३ करोड १६ लाख रुपैयाँबाट ५६.८७ प्रतिशतले बढेर ९९ करोड ८ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँबाट १३६ प्रतिशतले बढेर ८५ करोड ३८ लाख रुपैयाँ नाघेको छ।
यता प्रतिशेयर आम्दानी पनि ३०.८४ रुपैयाँबाट बढेर ४४.१३ रुपैयाँ पुगेको छ भने खराब कर्जा ८.६६ प्रतिशतबाट घटेर ७.५२ प्रतिशतमा झरेको छ। कम्पनीको बेसरेट ११.४९ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १९५.५१ रुपैयाँबाट बढेर २१२.२६ रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४५ करोड ३२ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म कम्पनीले ग्राहकमा २६ अर्ब ३७ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरी १२ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको सम्पत्तिको कुल मूल्य २८ अर्ब ९४ करोड ३१ लाख रुपैयाँ नाघेको छ।












