उपकार लघुवित्तको नाफा बढ्यो, अधिकांश सूचकमा ग्रोथ

२४ बैशाख २०८३, बिहीबार ०९:००

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफासँगै अधिकांश सूचकमा वृद्धि देखिएको हो।

कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमाससम्म २ करोड ८६ लाख रुपैयाँ रहकोमा चालू आवको सोही अवधिमा ७ प्रतिशतको वृद्धि सहित ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको आम्दानीमा उछाल आएको कारण नाफा बढेको हो।

खुद ब्याज आम्दानी समीक्षा अवधिमा ११ करोड ६८ लाख रुपैयाँबाट २९.७१ प्रतिशतले बढेर १५ करोड १५ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी पनि १३ करोड ४८ लाख रुपैयाँबाट ३०.५१ प्रतिशतले बढेर १७ करोड ६० लाख रुपैयाँ नाघेको छ।

आम्दानीमा वृद्धि भएसँगै सञ्चालन मुनाफा पनि ४ करोड ९ लाख रुपैयाँबाट ११.९० प्रतिशतले बढेर ४ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यता वितरणयोग्य मुनाफा गत आवमा ३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा घटेर २ करोड ५२ लाख रुपैयाँ ऋणात्मकमा कायम भएको छ।

प्रतिशेयर आम्दानी ३५.९८ रुपैयाँबाट सामान्य बढेर ३८.५० रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर १०.७४ प्रतिशत पुगेको छ। बेसरेट १२.४० प्रतिशत रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २९८.२० रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ३ लाख रुपैयाँ सञ्चिति रहेको छ। चैत मसान्तसम्म आइपुग्दा कम्पनीले २ अर्ब ६३ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*