राज्यलाई तिर्नुपर्ने दायित्वको वेवास्ता गर्दै बुक बिल्डिङमार्फत आईपीओ प्रक्रियामा चिया विकास निगम

काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले लगानीकर्तालाई गुमराहमा राख्दै आईपीओ निष्कासन गर्ने प्रक्रियामा अघि बढेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत सरकारी जग्गा प्रयोग गर्दै आएको कम्पनीले लामो समयदेखि सरकारलाई तिर्नुपर्ने भाडा तिरेको छैन । करोडौं रुपैयाँ भाडा नतिरेको कम्पनीले कम्पनीले बुक बिल्डिङ विधिमार्फत महङ्गोमा २ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने लागेको हो ।
कम्पनीले इलाम र झापामा रहेका करिब पाँच हजार २०० एकड सरकारी जग्गा चिया बगान सञ्चालनका लागि भाडामा लिएको थियो । प्रारम्भिक सम्झौताअनुसार वार्षिक दुई करोड ८० लाख रुपैयाँ भाडा तिर्नुपर्ने व्यवस्था भए पनि सो रकम नियमित रूपमा तिरेको देखिदैन । २०५७ सालमा नेपाल सरकारले चिया विकास निगमलाई निजीकरण गर्ने निर्णय गर्दै त्रिवेणी समूहलाई ६५ प्रतिशत शेयर बिक्री गरेको थियो ।
सोही निर्णयअनुसार चिया बगानहरू निजी व्यवस्थापनमा सञ्चालन गर्न दिइएको थियो । उक्त सम्झौतामा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको स्विकृतिमा र त्रिवेणी गु्रपमा अध्यक्ष पुरुषोत्तमलाल संघई तथा त्रिवेणी एनटीडीसी प्रालिका सञ्चालक सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका थिए ।
वार्षिक दुई करोड ८० लाख रुपैयाँ भाडा तिर्नुपर्ने कम्पनीले उल्टै सेटिङमा भाडादर नै घटाएको पाइएको छ । सम्झौता भएको करिब ८ वर्षपछि कम्पनी सरकारी अधिकारहरुको सेटिङमा भाडादर वार्षिक ४० लाख रुपैयाँ झारेको पाइएको हो । अहिले सो रकम समेत लामो समयदेखि तिरेको छैन ।
साथै, कम्पनीले स्थानिय कर समेत तिरेको देखिदैन । स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार स्थानीय विकास करसम्बन्धी दायित्वबाट छुट दिन नमिल्ने कुरा उल्लेख गरेको छ । तर, पछिल्लो २५ वर्षदेखि कम्पनीले मालपोत तथा स्थानीय कर तिर्नुपर्ने दायित्वबाट समेत पन्छिदै आइरहेको हो ।
कम्पनीले भाडालगायत कर सम्बन्धी दायित्व पूरा नगर्दै पुनः सोही सम्पत्तिमा आधारित भएर प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत नयाँ लगानी उठाउन लागेको विषयले थप विवाद सिर्जना गरेको छ । यस प्रक्रियामार्फत उठ्ने रकम र कम्पनीको वास्तविक वित्तीय अवस्था बीच ठूलो अन्तर रहेको भन्दै आलोचना भइरहेको छ । सरकारी जग्गाको उपयोग, भाडा विवाद र कम्पनीको वित्तीय दायित्व पूरा नगरेको अवस्था बीच शेयर निष्कासन अघि बढाइनु लगानीकर्ताका लागि जोखिमपूर्ण हुने देखिन्छ ।
नेपाल चिया विकास निगम लिमिटेड सन् १९७४ मा सार्वजनिक कम्पनीका रूपमा स्थापना भएको हो । पछि सन् २००० मा निजीकरण भएपछि यसको नियन्त्रण त्रिवेणी समूहमा गएको हो । कम्पनीले पूर्वी नेपालको सात वटा चिया बगानमार्फत चिया उत्पादन तथा प्रशोधन गर्दै आएको छ । कम्पनीको उत्पादन ‘टोकला’ ब्रान्ड नाममा बजारमा बिक्री हुँदै आएको छ ।












