प्रभु बैंकमाथि बढ्यो वित्तीय जोखिम, ‘नेगेटिभ वाच’ सहित रेटिङ ‘बीबी प्लस’मा झर्‍यो

२५ बैशाख २०८३, शुक्रबार १६:३७

काठमाडौं । प्रभु बैंक लिमिटेडको क्रेडिट रेटिङ घटाइएको छ । क्रेडिट मूल्यांकन संस्था इक्रा नेपालले बैंकको समग्र वित्तीय क्षमतासम्बन्धी सूचकांक घटाउँदै यसलाई पहिलेको तुलनामा कमजोर श्रेणीमा राखेको हो ।

इक्रा नेपालले प्रभु बैंकको इश्यूअर रेटिङलाई पहिलेको ‘बीबीबी माइनस’ बाट घटाएर ‘बीबी प्लस’ मा झारेको छ । यस्तै, बैंकले जारी गरेको सबअर्डिनेटेड डिबेञ्चरको रेटिङ पनि ‘एलबीबीबी माइनस’ बाट घटाएर ‘एलबीबी प्लस’ मा ल्याइएको छ । दुबै रेटिङमा ‘नेगेटिभ इम्प्लिकेशनसहित वाच’ यथावत् राखिएको छ जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा अझै जोखिम रहेको संकेत गर्छ ।

संस्थाले गरेको मूल्यांकन अनुसार यो रेटिङ परिवर्तनले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । अर्थात्, बैंक पूर्ण रूपमा असुरक्षित नभए पनि यसको वित्तीय स्थायित्वमा दबाब बढेको संकेत गरिएको छ ।  बैंकको खराब कर्जा दर उल्लेख्य रूपमा बढ्दै गएको छ । जसले रेटिङलाई असर गरी रहेको जनाइएको छ ।

बैंकले देशभर ३१२ शाखा, ६९ वटा विस्तारित काउन्टर तथा २६० एटिएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको सेयर स्वामित्व संरचनाअनुसार संस्थापक समूहको हिस्सा करिब ५१ प्रतिशत तथा सर्वसाधारणको हिस्सा करिब ४९ प्रतिशत रहेको छ । २०८२ माघ मसान्तसम्म बैंकले कुल निक्षेपतर्फ नेपाली बैंकिङ उद्योगको ४ दशमलव ४८ प्रतिशत हिस्सा ओगटेको छ भने कर्जातर्फ ४ दशमलव १९ प्रतिशत हिस्सा कायम गरेको छ । वाणिज्य बैंकहरूमध्ये मात्रै हेर्दा निक्षेपतर्फ बैंकको हिस्सा ४ दशमलव ९८ प्रतिशत तथा कर्जातर्फ ४ दशमलव ७१ प्रतिशत पुगेको छ ।

रेटिङ घटेसँगै प्रभु बैंकमाथि वित्तीय व्यवस्थापन, ऋण परिचालन र जोखिम नियन्त्रणमा थप चुनौती देखिएको विश्लेषण गरिएको छ । निरन्तर ‘नेगेटिभ इम्प्लिकेशनसहित वाच’ मा राखिनुले आगामी दिनमा थप समीक्षा र सम्भावित जोखिम अझै कायम रहेको संकेत गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*