मञ्जुश्री सहकारीका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ

काठमाडौँ । चार वर्षदेखि बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लागेपछि मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।
वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै उजुरी परेपछि मन्त्रालयको पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काका अनुसार सहकारी ठगी अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ । उनले घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रारम्भिक विवरणअनुसार उक्त सहकारीले करिब एक सय ५० बचतकर्ताको झण्डै १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको बताइएको छ । बचतकर्ताले लामो समयदेखि रकम फिर्ताको माग गर्दै आए पनि सहकारीले भुक्तानी नगरेपछि उजुरी प्रक्रिया अघि बढेको जनाइएको छ ।












