ऋणको चंगुलमा पाल्पा सिमेन्ट: आईपीओपछि पनि सुधार भएन वित्तीय संकट, नाफाभन्दा ८ गुणाबढी ऋण

काठमाडौँ । ‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी समूहअन्तर्गत सञ्चालित पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड पछिल्ला वर्षहरूमा ऋणको भारी बोझ, कमजोर नाफा र सीमित उत्पादन उपयोगका कारण गम्भीर वित्तीय दबाबमा पुगेको देखिएको छ । भर्खरै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेर दोस्रो बजारमा सूचीकृत भएको कम्पनीको वास्तविक वित्तीय अवस्था भने बाहिर देखिएभन्दा निकै कमजोर रहेको तथ्य बाहिरिएको हो ।
उद्योग विस्तारसँगै ऋणको भार बढ्दै जाँदा कम्पनीको आम्दानी र नाफाले त्यसलाई धान्न सक्ने अवस्थामा छैन । सञ्चालन आम्दानी अर्बौं रुपैयाँमा पुगे पनि त्यसको तुलनामा ऋणको आकार अत्यधिक ठूलो रहदा कम्पनीको वित्तीय आधार कमजोर बन्दै भएको छ । असोहि कम्पनीले आईपीओ निष्कासनको अनुमति प्राप्त गर्दा कर छलि र नक्कली भ्याट बिल प्रयोगजस्ता विवादित विषयसमेत लुकाएको थियो ।
कम्पनीले आय विवरण नबुझाउने (नन–फाइलर) फर्महरूसँग कारोबार गरी नक्कली भ्याट बिलमार्फत आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म करिब ३० करोड रुपैयाँ बराबरको राजस्व छलि गरेको विवरण सार्वजनिक भएको छ । आयकर ऐन २०५८ अनुसार यस्तो खर्च अडिटमा अस्वीकार हुने र शतप्रतिशत जरिवाना लाग्ने स्पष्ट व्यवस्था भए पनि कम्पनीले नियामक निकायहरूको निगरानी छल्दै आईपीओ जारी गर्न सफल भएको देखिन्छ ।
नेपाल धितोपत्र बोर्डसँगको पहुँच र सेटिङको भरमा कम्पनीले आफ्नो वास्तविक जोखिम लुकाएर आईपीओ निष्कासन गरेको हो । चैत २३ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु भएको कम्पनीले सर्वसाधारणबाट संकलन गरेको पूँजीलाई ऋण व्यवस्थापनमा प्रयोग गरे पनि त्यसले अपेक्षित राहत दिन सकेको छैन ।
कम्पनीको वित्तीय विवरण हेर्दा यसको ऋण संरचना निकै आक्रामक देखिन्छ । आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको कुल ऋण यसको मूर्त खुद सम्पत्तिको १.९ गुणा पुगेको थियो । आर्थिक वर्ष २०८१।०८२ मा यो अनुपात केही घटेर १.८ गुणा कायम भए पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समेत १.७ गुणा ऋण रहेको हो । कम्पनीसँग भएको वास्तविक सम्पत्तिभन्दा ऋणको आकार निकै ठूलो छ ।
कम्पनीले कमाउने सञ्चालन नाफाको तुलनामा ऋणको भार झन् चिन्ताजनक देखिएको छ । आर्थिक वर्ष २०८०।०८१ मा कुल ऋण सञ्चालन नाफाको ६.६ गुणा थियो । आर्थिक वर्ष २०८१।०८२ मा ६.४ गुणा कायम भएको यो अनुपात चालु आर्थिक वर्षको पहिलो ६ महिनामै बढेर ७.७ गुणा पुगेको छ । कम्पनीले सञ्चालनबाट कमाएको रकमले ऋण तिर्न निकै लामो समय लाग्ने देखिन्छ ।

अर्बौंको कारोबार गर्ने कम्पनीको खुद नाफा भने निकै न्यून देखिएको छ । आर्थिक वर्ष २०७९।०८० मा कम्पनीले जम्मा ३ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०८०।०८१ मा नाफा बढेर ७ करोड रुपैयाँ पुगे पनि उद्योगको आकार, लगानी र ऋणको तुलनामा यो अत्यन्त कमजोर प्रतिफल हो । आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीको खुद नाफा ९ करोड ८० लाख रुपैयाँ पुगे पनि त्यो दीर्घकालीन रूपमा वित्तीय मजबुती दिने स्तरको देखिँदैन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले जम्मा २ करोड ६० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
उद्योगको सञ्चालन आम्दानी पनि अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ पुगेको थियो । तर त्यसपछिको आर्थिक वर्ष २०८१।०८२ मा आम्दानी घटेर ४ अर्ब ११ करोड २० लाख रुपैयाँमा सीमित भएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ ।बजारमा मागको अवस्था कमजोर रहनु, अत्यधिक प्रतिस्पर्धा हुनु र उत्पादन क्षमता पूर्ण रूपमा प्रयोग हुन नसक्नुले आम्दानी वृद्धिमा असर पारेको देखिन्छ ।
सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ अप्रिलदेखि क्लिङ्कर उत्पादन र सन् २०२० जनवरीदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । नवलपरासीको सुनवल क्षेत्रमा रहेको उद्योगले पाल्पाको रहवास क्षेत्रमा रहेको चुनढुंगा खानीबाट कच्चा पदार्थ ल्याउँदै आएको छ । कम्पनीको क्लिङ्कर उत्पादन क्षमता वार्षिक ५ लाख ९० हजार मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता वार्षिक ७ लाख ३० हजार मेट्रिक टन रहेको छ ।उद्योगमा आधुनिक प्रविधिको रूपमा चिनिने भर्टिकल रोलिङ मिल प्रविधि प्रयोग गरिएको भए पनि त्यसले अपेक्षित वित्तीय स्थायित्व दिन सकेको देखिँदैन ।
विशेषगरी उत्पादन क्षमता उपयोग कमजोर रहनु कम्पनीको अर्को प्रमुख समस्या बनेको छ । सिमेन्ट पिसाइ उद्योगको उत्पादन क्षमता पछिल्ला चारदेखि पाँच वर्षसम्म करिब ४५ देखि ५५ प्रतिशत मात्र उपयोग भएको देखिन्छ ।
यो पनि:-
विवाद नै विवादकाबीच पाल्पा सिमेन्टको आईपीओ, के हो करोडौं कर छलीको काण्ड?












