तेस्रो त्रैमासमा लघुवित्तहरूको नाफा ३१ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति? (तथ्यांक सहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लघुवित्तहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। सूचीकृत ५० मध्ये ३२ वटा लघुवित्त संस्थाले सामूहिक रूपमा ५ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी संस्थाहरूले ४ अर्ब १० करोड ३८ लाख रुपैयाँ नाफा कमाएका थिए। यस आधारमा समग्र लघुवित्त क्षेत्रको नाफा ३०.९७ प्रतिशतले बढेको देखिएको हो।
यस अवधिमा सबैभन्दा बढी नाफा छिमेक लघुवित्तले कमाएको छ। संस्थाले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको ८५ करोड ३५ लाख रुपैयाँको तुलनामा ६.२० प्रतिशत बढी हो। दोस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्तले ६८ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष ४३ करोड २१ लाख रुपैयाँ रहेको यसको नाफा यस वर्ष ५७.३९ प्रतिशतले बढेको देखिन्छ। जीवन विकास लघुवित्तले ६२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ भने अघिल्लो वर्ष ३५ करोड ५६ लाख रुपैयाँ रहेको यसको नाफा ७६.२६ प्रतिशतले बढेको हो।
साना किसान विकास लघुवित्तको नाफा भने घटेको छ। संस्थाले ४८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको ५४ करोड ५० लाख रुपैयाँको तुलनामा ११.३३ प्रतिशत कम हो। ग्रामीण विकास लघुवित्तले ३० करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ भने ग्लोबल आइएमई लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ र स्वरोजगार लघुवित्तले २१ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यी संस्थाहरूको नाफा क्रमशः २२.१९ प्रतिशत, ४६.०७ प्रतिशत र ३१.२० प्रतिशतले बढेको देखिन्छ।
सूर्योदय वोमी लघुवित्तले १८ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा १४०.६५ प्रतिशतले बढेको हो। आशा लघुवित्तले १७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ भने यसको नाफा १६८.७६ प्रतिशतले बढेको देखिन्छ। यता निर्धन उत्थान लघुवित्तको नाफा भने तीव्र रूपमा घटेको छ। संस्थाले १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ जबकि गत वर्ष यही अवधिमा ४८ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार संस्थाको नाफा ६७.७४ प्रतिशतले घटेको हो।

मेरो माइक्रोफाइनान्स लघुवित्तले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ भने महुली लघुवित्तले १२ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। महुलीको नाफा गत वर्षको तुलनामा १२७० प्रतिशतभन्दा बढीले बढेको देखिन्छ। फस्र्ट माइक्रोफाइनान्सले ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशिया लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। एनआईसी एशिया लघुवित्तको नाफा ८१३६ प्रतिशतभन्दा बढीले बढेको देखिन्छ।
अभियान लघुवित्तले ९ करोड ८५ लाख रुपैयाँ, एनएमबी लघुवित्तले ८ करोड ७० लाख रुपैयाँ तथा समता घरेलु लघुवित्तले ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। हिमालयन लघुवित्तले ८ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ भने इन्फिनिटी लघुवित्तले ७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। इन्फिनिटी लघुवित्तको नाफा सबैभन्दा धेरै अर्थात् ११३६४ प्रतिशतभन्दा बढीले बढेको देखिन्छ।
आरएसडीसी लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ६.०८ प्रतिशत कम हो। गणपति लघुवित्तले ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ भने सामुदायिक लघुवित्तले ५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष घाटामा रहेको सामुदायिक लघुवित्त यस वर्ष नाफामा फर्किएको हो। सीवाईसी नेपाल लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ भने आत्मनिर्भर लघुवित्तले ४ करोड ८४ लाख रुपैयाँ र सपोर्ट लघुवित्तले ४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन्। उन्नति सहकार्य लघुवित्तले ४ करोड ४३ लाख रुपैयाँ, गुराँस लघुवित्तले ४ करोड ३ लाख रुपैयाँ तथा उपकार लघुवित्तले ३ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
धौलागिरि लघुवित्तले १ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ भने कालिका लघुवित्तको नाफा घटेर १ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। युनिक नेपाल लघुवित्तले १ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ भने मानुषी लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। मानुषी लघुवित्तको नाफा गत वर्षको तुलनामा ४१.१९ प्रतिशतले बढेको देखिएको छ।












